आज र भोलि बाढी पहिरोको जोखिम उच्च सतर्कता अपनाउन सुझाव
पोखरा, साउन ४ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि बाढी पहिरोको धेरै जोखिम भएकाले भिरालो जमिन तथा तटीय क्षेत्र आसपास घर भएकालाई उच्च सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक आउने क्रममा रहेकाले आज र भोलि धेरै पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार यसकै प्रभावले अहिले पनि देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । विशेषगरी प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा रातिदेखि नै पानी परिरहेको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा प्रदेश १ र प्रदेश २ का एकदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैबीच झरी परेसँगै विभिन्न नदी तथा खोलामा बाढी आउने भएकाले थप सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ । नवलपरासीको अरुणखोला, गिरुवारी खोला र साना नदी तटीय क्षेत्रका बाढी आउन सक्ने भएकाले आसपासका बासिन्दालाई बिहान १० बजेसम्म सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
परासी, बर्दघाट, डण्डा बजार र नवलपरासीको धेरै ठाउँमा ठूलो पानी परेको र अझै पानी परिरहने भएकाले अरुणखोला, गिरुवारी खोला र नवलपरासीको साना नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने भन्दै महाशाखाले सचेत गराएको हो ।