कोभिड–१९ अपडेटः १५६ सङ्क्रमित थपिए, कुल १७ हजार ६५८
पोखरा, साउन ४। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा नेपालमा कोभिड–१९ कोरोनाभाइरसका १५६ जना नयाँ बिरामी थपिएको जानकारी दिएको छ। पछिल्लो चौबीस घण्टामा तीन हजार ७४१ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा १५६ बिरामी थपिएका हुन्।
नयाँ थपिएका बिरामीसँगै नेपालमा कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या १७ हजार ६५८ पुगेको जनाएको छ । जसमध्ये ११ हजार ६९५ बिरामी कोरोनामुक्त भइसकेको छन् । हाल पाँच हजार ९२३ जनामा कोभिड–१९ को सङ्क्रमण सक्रिय रहेको छ । कोभिड–१९ को निको हुने दर ६६.२४ प्रतिशत पुगेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
पछिल्लो चौबीस घण्टामा ५८ जना बिरामी निको भई घर फर्केका छन् । कोरोना आशङ्कामा हाल २२ हजार ६६२ जना क्वारेन्टिनमा छन् । आइसोलेशनमा पाँच हजार ९२३ जना छन। कोभिड–१९ बाट हालसम्म ४० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोभिड–१९ को सङ्क्रमणले प्रदेश २ मा छ जना, वाग्मती प्रदेशमा नौ जना, गण्डकी प्रदेशमा पाँच जना, प्रदेश ५ मा १० जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा छ जनाको मृत्यु भएको हो ।