कोभिड–१९ अपडेटः नयाँ १०१ जनामा संक्रमण, कुल सङ्क्रमित १७ हजार ४४५
पोखरा, साउन २ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आफ्नो नियमित पत्रकार सम्मेलनको जानकारी अनुसार नेपालमा कोरोनाभाइरस नयाँ १०१ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोभिड–१९ सङ्क्रमित हुनेको सङ्ख्या १७ हजार ४४५ पुगेको छ ।
हालसम्म ११ हजार ५३४ जना कोभिड–१९ सङ्क्रमित निको भई घर फर्केका छन् । पछिल्लो चौबीस घण्टामा २८५ जना सङ्क्रमणमुक्त भई घर फर्केका छन् ।
पछिल्लो चौबीस घण्टामा २७ वटा प्रयोगशालामा चार हजार ६८८ जनाको नमूना सङ्कलन गरी परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाभाइरस सङ्क्रमितको निको हुने दर ६६.१२ प्रतिशत पुगेको छ । हाल २२ हजार ७५६ जना क्वारेन्टाइनमा रहेका छन् । त्यसैगरी, आईसोलेशनमा पाँच हजार ८७१ जना छन् ।
सप्तरीको राजविराजका एकजना सङ्क्रमितको मृत्यु भएसँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ४० पुगेको छ ।