नारायणी अस्पतालबाट वीरगन्जका २१ कोरोना संक्रमित निको भएर घर फर्किए
वीरगन्ज — मंगलबार राति साढे १० बजे नारायणी अस्थायी कोभिड अस्पतालबाट २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । डिस्चार्ज हुनेमा ४ जना महिला र १६ जना पुरुषहरु सबैजना वीरगन्ज महानगरपालिकाका स्थानीय हुन् । पछिल्लो दुईवटा पीसीआर रिर्पोट नेगेटिभ आएपछि २१ जनालाई डिस्चार्ज गरिएको हो। उनीहरूलाई गत वैशाख २७ र ३० गते कोभिड–१९ पुष्टि भएदेखि आइसोलेसनमा राखिएको थियो । नारायणी अस्पतालको आइसोलेसन वार्डमा बेड अभाव भएकाले २१ जना संक्रमितलाई संक्रमण भएको पहिलो २ दिन घरमै सेल्फ आइसोलेसनमा राखेको थियो । यसअघि नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका ७२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । सबै संक्रमित डिस्चार्ज भइसकेकाले नारायणी अस्पताल कोरोना मुक्त भइसकेको छ । नारायणी अस्पतालमा पुनः जनरल सेवा सुचारु गर्ने तयारी भइरहेको छ ।