रियल म्याड्रिड, बार्सिलोनालाई उछिन्दै शीर्षस्थानमा उक्लियो
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत रियल सोसीडाडको मैदानमा आइतबारको खेलमा जित दर्ता गर्दै रियल म्याड्रिड अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । सो खेलमा रियल सोसिडाडलाई २–१ ले हराएपछि शीर्षस्थानमा रहेको बार्सिलोनालाई उछिन्दै रियल म्याड्रिड माथी उक्लिएको हो । अंक तालिकामा रियलको ३० खेलबाट ६५ अंक भएको छ। दोस्रोमा झरेको बार्सिलोनाको पनि समान ६५ अंक नै छ। यसअघि बार्सिलोना चौथो स्थानको सेभियासँग बराबरीमा रोकिएको थियो। रियल म्याड्रिड हेड टु हेडको आधारमा शीर्ष स्थानमा उक्लिएको हो। गोलअन्तरमा बार्सिलोना अघि छ। ला लिगामा हेड टु हेडलाई अंक तालिकामा पहिलो प्राथमिकतामा राख्ने नियम छ। अब बाँकी रहेका ८ खेलमा जित हात पारे रियलले ला लिगाको उपाधि जित्ने पक्का हुनेछ। यो अवस्थामा बार्सिलोनाले सबै खेलमा जित हात पारे पनि फरक पर्नेछैन। रियलले अंक गुमाएको अवस्थामा भने बार्सिलोनाको सम्भावना हुनेछ। आइतबार रियलका लागि जित दिलाउने क्रममा सर्जियो रामोसले ५० मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे। करिम बेन्जिमाले ७० मिनेटमा रियलको अग्रता दोब्बर पारेका थिए। ८३ मिनेटमा सोसिडाडका मेरिनोले गरेको गोल सान्त्वनामै सीमित बन्यो। सोसिडाड ४७ अंक जोडेर अंक तालिकाको छैटौं स्थानमा छ।