डब्लूएचओ भन्छ,“कोरोनाभाइरस हामीसँग लामो समय रहन्छ”
एजेन्सी । विश्व स्वास्थ्य संगठन “डब्लूएचओ”का प्रमुख डा.टेड्रोस अधानोम घेब्रेसेयसले कोरोनाभाइरस हामीसँग लामो समय रहने बताउँदै यसबिरुद्धको लडाईंमा कुनै पनि लापरवाही नगर्न चेतावनी दिएका छन् । अफ्रिका, पूर्वी युरो, मध्य अमेरिका र दक्षिण अमेरिकामा कोभिड–१९ को संक्रमितको संख्या बढेकोमा पनि उनले चिन्ता व्यक्त गरेका हुन् । चाँडै लकडाउन हटाए, भाइरसको संक्रमण पुनः सक्रिय हुने उनको भनाइ थियो ।
पत्रकार सम्मेलनमा डा.टेड्रोसले पश्चिमी युरोपमा महामारी स्थिर वा घट्दो क्रममा रहेपनि धेरै राष्ट्रहरुमा यो सुरुवाती चरणमा रहेको बताए । “महामारीको सुरुवातमा नै प्रभावित बनेका देशहरुमा पनि पुनः संक्रमितको संख्या बढ्दो छ,” उनले भने, “गल्ती नगरौँ, हामी अझै लामो बाटो जानु छ । यो भाइरस हामीसँग लामो समय रहनेछ ।’
उनले थपे, लकडाउन र सामाजिक दुरी कायम गर्ने उपायले संक्रमणको दर धेरै देशमा कम गरेको छ । तर, भाइरस अझै पनि खतराको रुपमा कायम छ । संक्रमण पुनः फैलिन सक्छ । अहिलेको सबैभन्दा ठूलो खतरा भनेको हामी लापरवाह हुनसक्ने हो ।’ डा.टेड्रोसले विश्व स्वास्थ्य संगठनले महामारीविरुद्ध गरिरहेको कारवाहीको पनि बचाऊ गरे । उनले समयमा नै कोभिड–१९ को बारे विश्वलाई चेतावनी दिएको दाबी गरे । विश्वका धेरै राष्ट्रका सरकारहरुले डब्लूएचओले गरिरहेको कामका लागि प्रशंसा गरे पनि अमेरिकाबाट राजीनामाका लागि ठूलो दबाब आइरहेको छ । यसबारे प्रश्न गर्दा उनले आफू मानिसको ज्यान बचाउन दिन र रात काम गरिरहने बताए । हालसम्म विश्वमा २६ लाखभन्दा बढी संक्रमित फेला परिसकेका छन् भने १ लाख ८१ हजारभन्दा बढीले ज्यान गुमाइसकेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
बीबीसी