एकैदिन ११ जनामा कोरोना सङ्क्रमण देखिएपछि उदयपुर सिल
उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केको आसपासका ११ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि प्रदेश १ सरकारले जिल्ला सिल गर्ने निर्णय गरेको छ । उदयपुरमा मात्रै २४ जनामा सङ्क्रमण देखिएकोले जिल्ला नै सिल गरेर लकडाउनलाई अझै कडाइ गर्दै निगरानी बढाउने प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले जानकारी दिनुभयो ।
‘भुल्के यसअघि नै सिल गरिएको थियो, मङ्गलबारबाट उदयपुर नै सिल गरिएको छ, पहाडीले भन्नुभयो, अब उच्च निगरानी गछौँ । अत्यावश्यक काममा जिल्ला आउनुपर्नेलाई उदयपुरको सबै सिमानामा हेल्प डेक्स राखिएको छ र त्यहीँ स्वास्थ्य जाँच गराइ जिल्ला भित्रिन दिइनेछ ।’
जिल्ला सिल गरिए पनि खाद्यान्न, दूध डेरी, मेडिकल पसल, अस्पताल, ग्यास डिलरजस्ता अत्यावश्यक सामग्रीका पसलहरु खुल्ने जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्लाभित्र आउने र जिल्लाबाहिर जाने मानिसहरुलाई उच्च सर्तकताका साथ आवत जावत गर्न दिने प्रहरी प्रमुख, एसपी वीर बहादुर बुढा मगरले जानकारी दिनुभयो । मङ्गलबार भुल्केमा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यसअघि त्यही ठाउँको एउटा भवनमा रहेका १६ मध्ये १३ जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।