मृत महिलाको पाठेघरबाट बच्चाको जन्म भयो

अन्तराष्ट्रीय खबर मुख्य समाचार स्वास्थ्य

बीबीसी न्यूज
ब्राजिलमा मृत्यु भइसकेकी एकजना महिलाको पाठेघर प्रत्यारोपण प्रयोग गरेर एउटी स्वस्थ बालिकाको जन्म भएको छ । सन् २०१६ मा ब्राजिलको साओ पाउलोमा उक्त प्रत्यारोपणसम्बन्धी १० घण्टा लामो शल्यक्रिया भएको थियो र पछि गर्भाधानसम्बन्धी उपचार गरिएको थियो । पाठेघर प्रत्यारोपणपछि आमा बनेकी ती बत्तीस वर्षीया महिला पाठेघर बिनै जन्मेकी थिइन् । जीवित महिलाले नै दान गरेका पाठेघर प्रयोग गर्दै ३९ वटा पाठेघरहरू प्रत्यारोपण गरिसकिएको छ। त्यसमा छोरीलाई आफ्नो पाठेघर दिने आमाहरू पनि रहेका छन् र ११ जना शिशुको त्यसरी जन्म भइसकेको छ । तर मृत्यु भइसकेका दाताहरूको पाठेघर प्रत्यारोपण गर्ने यसअघिका १० वटा प्रयासहरू कि त असफल भएका थिए कि त गर्भ तुहिएका थिए । यस पटक, ती पाठेघर दाता ४० वर्षको हाराहारीमा रहेकी तीन छोराछोरीकी आमा थिइन् जसको मस्तिष्कमा रगत बगेर मृत्यु भएको थियो । पाठेघर प्रत्यारोपण गरिएकी महिला चाहिँ प्रत्येक ४५०० महिलामा एकजनामा देखिने एकप्रकारको सिन्ड्रोमबाट ग्रस्त थिइन् । त्यस्तो अवस्थामा महिलाको योनी र पाठेघर राम्रोसँग विकसित हुँदैन । तर उनको डिम्बाशयमा केही समस्या थिएन। र चिकित्सकहरूले उनको डिम्ब निकाल्न सफल भएका थिए र पुरुषको वीर्यसँग गर्भाधान गराई चिस्यानमा राखेका थिए ।

ती महिलालाई त्यस्ता औषधिहरू दिइएको थियो जसले उनको रोगप्रतिरोधी प्रणालीलाई कमजोर पार्दथ्यो। उनको शरीरलाई पाठेघरको प्रत्यारोपण स्वीकार गराउनका लागि त्यसको गरिएको थियो । त्यसको झण्डै ६ हप्तापछि उनको महिनावारी हुन शुरू भयो । सात महिनापछि गर्भाधान गराइएको ती डिम्बहरू उनको पाठेघरमा राखिएको थियो । र, सामान्य गर्भावस्थापछि ती महिलाले सन् २०१७ को १५ डिसेम्बरमा सिजेरियन शल्यक्रियापछि साढे दुई किलोग्राम तौल भएकी शिशुलाई जन्म दिएकी थिइन् । साओ पाउलोस्थित एउटा अस्पतालका डा.डेनी आइजेनबर्गले भने “जीवित दाताहरूबाट गरिएका शुरूवाती पाठेघर प्रत्यारोपणहरू चिकित्सा क्षेत्रका लागि कोसेढुङ्गा थिए । यस्ता प्रत्यारोपणहरूले उपयुक्त दाताहरूसँगको पहुँच तथा आवश्यक स्वास्थ्य सुविधाहरू प्रदान गर्दै बाँझोपन भएका धेरै महिलाहरूलाई आमा बन्न सक्ने सम्भावनाहरूको सिर्जना गरिदिएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *