पोखरेली ख्रीष्टिय युवा संगतिको अध्यक्षमा सुबास मसिही
पोखरा, ३१ बैशाख ।पोखरामा रहेका चर्चहरुको समुदाय पोखरेली ख्रीष्टिय समुदाय अन्तर्गत रहेको युवाहरुको संगति पोखरेली ख्रीष्टिय युवा संगतिको अधिवेशनले २ वर्षका लागि नयाँ कार्य समिति चयन गरेको छ।
इम्मानुएल लाईट चर्चका सुबास मसिहीको अध्यक्षतामा बनेको यस कार्यसमितिमा १३ जना सदस्य रहेका छन । कार्य समितिमा सुसमाचारिय कुँडहर चर्चका किरण नेपाली उपाध्यक्ष, पोखरा एलायन्स चर्चका दिपेन गुरुङ सचिव, नेपाल ख्रीष्टिय रामघाट चर्चका साजन परियार कोषाध्यक्ष, नयाँगाउँ चर्चका सुरज सुनार सह सचिव चयन हुनुभएको छ ।
साथै विजय चर्च अमरसिँहका राम गुरुङ सदस्य, अर्चलबोट चर्चका डेभिड श्रीपाली सदस्य, लामाचौर चर्चकी कोपिला खाती सदस्य, बाटुलेचौर चर्चकी बिनिता तिमिल्सिना सदस्य, हिमालयन अनुग्रह चर्चकी एस्तर गुरुङ सदस्य, पुनस्र्थापन चर्चका प्रशान्त परियार सदस्य, पोखरा बप्तिष चर्चकी एस्तर रामदाम सदस्य र पोखरा विनय चर्चका सुरेश तामाङ सदस्यको रुपमा चयन हुनुभएको छ । त्यसैगरी पोखरेली ख्रीष्टिय समुदायमा आवद्ध चर्चबाट सिफारिस भएर आएका अन्य जवानहरु प्रतिनिधि सदस्यको रुपमा रहनुभएको छ ।
नयाँगाउँ चर्चमा आयोजना गरिएको अधिवेशन एवम अभिषेक कार्यक्रममा नयाँगाउँ चर्चका जवानहरुले आराधना गरेपश्चात युवा संगतिका निवर्तमान सचिव किरण नेपालीले कार्यक्रमलाई सन्चालन गर्दै अगाडी बढाउनुभएको थियो । कार्यक्रममा परमेश्वरको वचनबाटबोल्दै पोखरेली ख्रीष्टिय समुदायका अध्यक्ष तथा बाटुलेचौर चर्चका पाष्टर हरिराम घिमिरेले प्रेरित ६ अध्ययबाट बोल्नुहुदै युवाहरु आत्मा र बुद्धिले भरिएका भएर सेवाको काममा लाग्नुपर्ने कुरामा जोड दिएर बचनको गहन शिक्षा दिनुभएको थियो ।
वचन पश्चात पोखरेली ख्रीष्टिय युवा संगतिका सल्लाहकार तथा नेपाल ख्रीष्टिय रामघाट चर्चका एल्डर प्रकाश भुजेलले नयाँ कार्यसमितिको घोषणा, अहोदाको प्रमाण पत्र दिने कार्य तथा प्रतिबद्धता जाहेरी गर्ने काममा सहजीकरण दिनुभयो ।
नयाँ कार्य समिति चयन पश्चात पोखरेली ख्रीष्टिय युवा संगतिका वर्तमान अध्यक्ष सुबास मसिहीले पोखरेली ख्रीष्टिय युवा संगतिले विगतदेखि गर्दै आईरहेको असल कार्यलाई निरन्तरता दिँदै आगामी दिनमा नयाँ समिति तथा युवाहरुसँग मिलेर अझै येशू ख्रीष्टको साक्षीको लागि प्रेम एकता र सेवाको मुल मर्मलाई अँगाल्दै अगाडि बढ्नुपर्ने आवश्यकता भएको र यसमा आफु सक्रिय भएर लाग्ने कुरा व्यक्त गर्नुभयो । साथै पुर्व समितिका पदाधिकारी तथा सदस्यहरुलाई धनयाद सहित कदरपत्र समेत प्रदान गरियो ।
नयाँ कार्य समितिलाई शुभकामना दिने क्रममा युवाहरुको प्रतिनिधित्व गर्दै इम्मानुएल लाईट चर्चका अमृत पावलले नयाँ कार्यसमितिलाई थप जिम्मेवारी थपिएको र युवाहरु सँधै नै प्रार्थना र हरेक काममा साथ रहेको कुरा व्यक्त गर्नुभयो । त्यसैगरी पोखरेली ख्रीष्टिय समुदायका उपाध्यक्ष तथा नयाँगाउँ चर्चका एल्डर राम प्रसाद शर्माले युवाहरु मण्डलीको बलियो खम्बा भएको र उनीहरुको विचमा जवान संगतिको महत्वपुर्ण भुमिका रहेको बताउनुभई सफल कार्यकालको सुभकामना व्यक्त गर्नुभयो ।
पोखरेली ख्रीष्टिय युवा संगति पोखरेली ख्रीष्टिय समुदाय अन्तर्गत रहेको छ जसमा पोखराका लगभग ५३ वटा चर्चहरु रहेका छन ।