च्याम्पियन्स लिग : पोर्टोमाथि लिभरपलुको जित, टोटेनहम हट्सपरद्वारा म्यानचेस्टर सिटी पराजित
एजेन्सी – युइएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले पोर्चुगिज क्लब एफसी पोर्टोमाथि सहज जित निकालेको छ । लिभरपुलले घरेलु मैदानमा पोर्टोलाई २–० ले पराजित गरेको हो । लिभरपुलको जितमा नावी केइटा र रोबर्टो फिर्मिनोले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको हो ।
एनफिल्डमा मंगलबार राति भएको खेलमा लिभरपुलले खेलको पाँचौ मिनेटमा नै अग्रता लिन सफल भएको थियो । नावी केइटाले रोबर्टो फिर्मिनोको पासमा गोल गर्न सफल भएका थिए । पहिलो गोलका लागि असिस्ट गरेका रोबर्टोले २६औं मिनेटमा गोल गरेपछि लिभरपुलले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । उनले ट्रेन्ट एलेक्सन्डर अर्नोल्डको पासमा गोल गरेका थिए ।
दोस्रो हाफमा पनि लिभरपुलले पाहुना टोलीलाई दवावमा राखेपनि थप गोल गर्न असफल हुदा पहिलो हाफको २ गोल नै लिभरपुलको जितमा पर्याप्त बन्यो ।
यससँगै लिभरपुलले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भवानालाई बलियो बनाएको छ । लिभरपुलले दोस्रो लेगमा गोलरहित बराबरी अथवा १–० ले पराजित भएपनि सेमिफाइनलमा स्थान बनाउनेछ ।
यता पोर्टोलाई भने सेमिफाइनलमा स्थान बनाउन निश्चित जित आवश्यकता छ । ३–२ को जित अथावा २–२ को बराबरी गरे पोर्टोले खेल लम्ब्याउने छ । दोस्रो लेगमा १८ अप्रिलमा पोर्टोको मैदानमा हुनेछ ।
टोटेनहम हट्सपरद्वारा म्यानचेस्टर सिटी पराजित
दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनको एकमात्र गोलमा टोटेनहम हट्सपरले युरोपेली च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीलाई १-० ले पराजित गरेको छ ।
दोस्रो हाफको ७८ औँ मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई जितनजिक पुर्याएका थिए । उनले पेनाल्टी क्षेत्रभित्र एकल प्रयासमा गोल गरेका थिए । त्यसअघि टोलीका मुख्य फरवार्ड ह्यारी केन चोट बोक्दै बाहिरिएपछि टोटेनहम समस्यामा परेको थियो । तर सनले क्रिस्टियन एरिक्सन, डेले अली र लुकास मोउरासँग मिलेर आक्रमणलाई बलियो बनाइरहे ।
पहिलो हाफमा म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुएरोले पेनाल्टी चुकाउँदा सिटीले अग्रता लिन असफल रहेको थियो । अगुएरोको प्रहारलाई टोटेनहमका कप्तान तथा गोलरक्षक ह्युगो लोरिसले बचाएका थिए । रेफ्रीले ड्यानी रोजको ह्यान्ड बललाई भिडियो असिस्टेन्ट रेफ्रीको सहारा लिएर सिटीलाई पेनाल्टी दिएका थिए ।पहिलो लेगमा १-० ले पछाडी परेको सिटीले दोस्रो लेग घरेलु मैदानमा खेल्नेछ । खेल अर्को साता हुनेछ ।