“बिझाउने काँडाको” पुनरागमन
सन् २००७ मा तनहँु, डुलेगौंडा मण्डलीका जवानहरुद्वारा ख्रीष्टियान जगतमा संगीतद्धारा पृथक काम गर्नेसाथै गाउने र बजाउने मात्र नभएर परमेश्वरको शक्तिमा चलेर अचम्मको कामहरु गर्ने उद्धेश्यले बिजाउने काडाँ ब्यान्डको सुरुवात भयो । हुनत ब्यान्ड सुरु हुुनुुभन्दा धेरै गीतहरु पहिले नै बनिसकेका थिए । ब्यान्डको लक्ष्यलाई अगाडी बढाउन ब्यान्डमा सुुरुवातका दिनहरुमा अमृत पुन, इजाक थापा, अमर परियार, अर्जुन परियार, सिमोन र सुरेश मिलेर ब्यान्डलाई अगाडी बढाउनुभयो ।
ब्यान्डको सुरुवात भएपछि ब्यान्डले बिझाउने काँडा एल्बम निकाल्न सफल भयो जसमा लगभग ८ ओटा गीतहरु थिए, “बिझाउने काँडा” जसलाई धेरैजनाले मन पराई आशिषित हुनुभयो, साथै “सिर्जेको एउटै आकृतिमा”, “साँघुरोबाटोमा”, “अँगालोमाबाधीँ राख्न” “प्रभु समालीदेऊ” बोलका गितहरु निकै चर्चित बने । केहि समयको अन्तरालपछि ब्यान्डका लिड गायक अमृत पुन बिशेष कारणले बाहिर जानुुपरेपछि ब्यान्डका सदस्यहरु इजाक थापा, अमर परियार लगायतका अन्य सदस्यहरुले ब्यान्डलाई अगाडी बढाउनुभयो । र फेरि केहि समय गुपचुप रुपमा रहेको ब्यान्ड अहिले फेरि अमृत पुनको आगमनसँगै नयाँ जोश र उत्साहसहित ब्यान्ड दर्शनमा फेरि अगाडि बढ्ने उद्देश्यले पुनः उदाएको छ ।
वर्तमान अवस्थामा ब्यान्डमा नयाँ सदस्यहरु थपिनुभएको छ जसमा लिड गायकमा पाष्टर अमृत पुन (गेतसमनी चर्च, खाल्टेमसिना, पोखरा), किर्बोड तथा भ्वाइलिनमा पाष्टर महिपाल लामा (आशिष चर्च, सिदार्थचोक, पोखरा), बेस गितारमा डिकन हनोक तामाङ (पुनर्जीवन चर्च, बागमारा, पोखरा), रिदम गितार तथा ब्याक भोकलमा अगुवा भुवन पुन (जीवित परमेश्वरको मण्डली, लामेआहाल, पोखरा), लिड गिटारमा सुमन तामाङ (नदिपुर चर्च, पोखरा), ड्रममा उज्ज्वल गुरुङ (रामघाट चर्च, पोखरा), त्यस्तै किर्बोड तथा भ्वाइलिनमा उपासना लामा (आशिष चर्च, सिदार्थचोक, पोखरा) हुनुहुन्छ ।
भावि दिनहरुमा यस ब्यान्डले नेपालका विभिन्न ठाउँहरुमा पुगेर आराधनाद्वारा प्रभुको अगुवाईमा गीतहरु गाउने, र गीतहरुद्वारा प्रभुलाई चिनाउने कार्यमा अग्रसर हुने लक्ष्य लिएको छ । साथै बिझाउने काँडा ब्यान्डका लिड गायक अमृत पुन भन्नुहुन्छ, “यो एउटा ब्यान्ड मात्र नभएर यो एउटा मिशन पनि हो यसले युवाहरुमाझ पुगेर इसाई संगित क्षेत्रमा भएका प्रदुषणहरु हटाउने, कन्सर्ट सम्बन्धी नयाँ सोच ल्याउने साथै यो ब्यान्ड आराधना सँगसँगै जाने ब्यान्ड हो भनेर पनि चिनाउन चाहन्छु” ।