पीपीएलः घरेलु टोली पोखरा पल्टनको सुखद सुरुवात

खेलकुद मुख्य समाचार स्थानिय समाचार

पोखरा । आजबाट शुरु भएको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । पोखरा रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा पोखराले विराटनगर टाइटन्सलाई ५८ रनको फराकिलो अन्तरले हराएको हो । १९८ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३९ रन मात्रै बनाउन सक्यो । विराटनगरको सुरुवाती समयमै विकेट गुमाएको थियो । १७ रन हुदा पहिलो विकेटको रुपमा सुनिल धमलालाई गुमाएको विराटनगरले दोस्रो विकेटको रुपमा प्रदीप ऐरीलाई गुमाएको थियो । विराटनगरका लागि राजु रिजाल र पुष्प थापाले समान ३०–३० रन बनाए । त्यस्तै, सन्दीप लामिछानेले अविजित १४ रन बनाए । त्यस्तै एन्ड्रव सुविकसानले १४, सुनिल धमलाले ११, प्रदीप ऐरी र जितेन्द्र ठकुरीले समान १०/१० रन बनाए । बलिङतर्फ ललितनारायण राजवंशीले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा पल्टनले निर्र्धािरत २० ओभरमा ३ विकेटको क्षतिमा १९७ रन बनाएको थियो । पोखराका लागि आशिफ शेखले ५२, रवि इन्दर सिंहले ४४ र विनोद भण्डारीले अविजित ४१ रन बनाए । विनोदले विष्फोटक ब्याटिङ गर्दै ११ बलमा ५ छक्का र २ चौका प्रहार गरेका थिए । त्यस्तै, कुशल भुर्तेलले ३८ रन बनाए । सन्दीप लामिछानेले २ विकेट लिए ।
पीपीएल अन्तर्गत शनिबार २ खेल हुँदैछ । पहिलो खेलमा पारस खड्को कप्तानीमा रहेको चितवन राइनोज र सोमपाल कामीको बुटवल ब्लास्टर्सबीच खेल हुनेछ । दोस्रो खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं रोयल्स र दीपेन्द्रसिंह ऐरीको धनगढी ब्लुजबीच खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *