पोखरामा प्रदर्शन गरियो विश्वकप ट्रफी

खेलकुद स्थानिय समाचार

पोखरा रंगशालामा आईसीसी वानडे विश्वकपको ट्रफी प्रदर्शन गरिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले ट्रफी प्रदर्शनीमा नेपाली टोलीको प्रतिनिधित्व गरेका हुन । त्यसपछि कप्तान पारस खड्काले पनि ट्रफी उचालेर दर्शकमाझ ट्रफी प्रदर्शन गरेका थिए । पोखरा प्रिमियर लिग (पीपीएल) भइरहेको पोखरा रंगशालाको क्रिकेट मैदानमा ट्रफी प्रदर्शनी गरिएको हो । शनिबार बिहान पोखरा ल्याइएको ट्रफी केहिबेर फेवाताल परिसरमा राखेर पोखरा रंगशालामा ल्याइएको हो । सन् २०१९ मा वर्ष इंग्ल्यान्ड र वेल्सले संयुक्त रुपमा आयोजना गर्न लागेको एक दिवसीय विश्वकप अघिको ट्रफीलाई ‘विश्व टुर’ अन्तर्गत शुक्रबार दिउँसो नेपाल ल्याइएको थियो । शुक्रबार साँझ काठमाडौंको स्वयम्भुमा प्रदर्शन गरिएको थियो । ट्रफी चार दिनसम्म नेपालमा रहने कार्यक्रम छ । विश्वकपको ट्रफी निशान कम्पनीको सहायताले विश्वभर प्रदर्शन गरिँदैछ । क्रिकेटको विश्वकप ट्रफी नेपालमा पहिलो पटक ल्याइएको हो । एक सय दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफी टुर ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएइ) हुँदै नेपाल ल्याइएको हो ।
ट्रफी नेपालबाट भारत, न्यूजील्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स र जर्मनी हुँदै इङ्ग्ल्याण्ड लगिनेछ । विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ । अब ट्रफी टुर अन्तर्गत आइतबर काठमाडौंको चन्द्रागिरि र वसन्तपुर दरबार स्क्वायरमा राखिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *