प्रतिनिधिसभा तथा प्रदेशसभामा निवार्चित सदस्यहरुलाई बधाई तथा ख्रीष्टमस शुभकामना आदनप्रदान

मुख्य समाचार स्थानिय समाचार

सुबास मसिही
पोखरा । २ पुष २०७९ । हालै सम्पन्न मंसिर ४ गतेको प्रतिनिधिसभा साथै प्रदेशसभाको निर्वाचनमा विजयी भई प्रतिनिधिसभा तथा प्रदेशसभाको सदस्यको रुपमा निर्वाचित सांसदहरुलाई पोखरेली ख्रीष्टिय समुदाय पोखराले एक कार्यक्रम गर्दै बधाई ज्ञापन गरेको छ । येशू ख्रीष्टको जन्मोत्सवको अवसर पारेर आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा प्रतिनिधि सभा तथा प्रदेशसभाका सदस्य एवं सभासदहरु, विभिन्न संघसंस्थाका प्रमुखहरु, ख्रीष्टियान समुदाय तथा समाजका प्रमुख अगुवाहरुको उपस्थिति रहेका थियो ।


कार्यक्रममा कास्की क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधि सभाका माननीय दामोदर पौडेल (बैरागी), कास्की क्षेत्र नं १(क)बाट निर्वाचित प्रदेशसभाका माननीय खगराज अधिकारी, कास्की जिल्ला क्षेत्र नं १ (ख)बाट नर्वाचित प्रदेशसभाका माननीय बेद बहादुर गुरुङ, कास्की क्षेत्र नं २(क) बाट निर्वाचित प्रदेशसभाका माननीय भिमबहादुर कार्की, कास्की जिल्ला क्षेत्र नं ३ (ख) बाट निर्वाचित प्रदेशसभाका माननीय प्रकाश बराल त्यसैगरी समानुपातिक तर्फबाट प्रदेशभाको लागि चयन हुनुभएकी प्रदेशसभा सदस्यहरु देवका पहारी त्रिपाठी, राजकुमारी भुजेल र नन्दकला दमाई त्यसैगरी नेपाल बुद्धिजिवी परिषद् केन्द्रिय समितिका सदस्य गणेश पाख्रिन को उपस्थिति रहेको थियो ।


स्वागत मन्तव्य राख्दै कार्यक्रम संयोजक तथा पोखरेली ख्रीष्टिय समुदायका उपाध्यक्ष रामप्रसाद शर्माले ख्रीष्टियान समुदायलाई राज्यले वन्चित गरेका विभिन्न मागहरुलाई पनि राख्नुभएको थियो । शर्माले कार्यक्रममा बोल्दै ख्रीष्टियानहरु आफ्नो आस्थाअनुसार धार्मिक अभ्यास गर्ने स्थानको कमि, समाधिस्थलको अभाव, चाडपर्व विदाबाट बन्चित भएको कुरा जाहेर गर्नुभयो ।


मन्तव्य दिँदै कार्यक्रममा उपस्थित सभासदहरुले आफुहरु सबै जनताको लागि निर्वाचित भएको र राज्यले संविधानमा उल्लेखभए अनुसार ख्रीष्टियानहरुले पाउनुपर्ने अधिकारबाट बन्चित नगराउने वाचा पनि गर्नुभयो । संविधानले कहिल्यै विभेद गर्न नमिल्ने, राज्यले ख्रीष्टियानहरुको दफन क्षेत्रको लागि पनि गम्भिरतापुर्ण रुपमा सोच्नुपर्ने कुरा पनि उल्लेख गर्नुभयो । साथै आफुहरु सँधै सबै धर्मावलम्बीको साथमा भएको प्रतिबद्धता जाहेर गर्नुभयो ।


पोखरेली ख्रीष्टिय समुदायका सल्लाहकार तथा नयाँगाउँ चर्चका पाष्टर ग्रीष्म पराजुलीले बधाई ज्ञापन गर्दै बाइबलबाट ख्रीष्टमसको विषयमा बोल्नुभएको थियो । प्रवचन दिँदै उहाँले संसारमा भएका सबै प्रकारका विकृति र विसंगतिकोलागि पाप जिम्मेवार रहेको र पापमाथी विजयी भई संसारका सबै मानिसहरुको मुक्तीको लागि येशू ख्रीष्ट आउनुभएको बताउनुभयो । साथै ख्रीष्टियानहरुले निरन्तर देश र नेतृत्वको लागि निरन्तर प्रार्थना गरेको जनाउनुभयो ।


कार्यक्रममा सरुको प्रार्थना पोखरा बप्तिष चर्चका पा.के.पी त्रिपाठीले गर्नुभई मारनाथा चर्चका जवानहरुले ख्रीष्टमस भजन र नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रमको सन्चालन ने.ख्री रामघाट चर्चका एल्डर प्रकाश भुजेलले गर्नुभएको थियो । सभाध्यक्ष तथा पोखरेली ख्रीष्टिय समुदायका अध्यक्ष हरिराम घिमिरेको धनयवाद साथै कार्यक्रमका सल्लाहकार ए.डा. दिपेन्द्र कुमार गौतमले आर्शिवाद तथा समापनको प्रार्थना गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *