सडक बिकासको लागि कि विनाशको लागि ?

मुख्य समाचार लेख / रचना

सम्पादकीय

परिवारको सबै सदस्य गुमाएको मान्छेलाई के राहतले मल्हम लगाउन सक्छ र? यो प्रश्न सरोकारवालाहरु र जनचेतनाको लागि रहेको छ । बिहिबार स्याङजा वालिङ नगरपालिका–१४ तमादीमा आएको पहिरोले एकै परिवारका ९ जनालाई घरभित्रै थुन्यो । पहिरोबाट बाँचेर अस्पतालमा छट्पटाइरहेकी मनिषा नेपालीको आवाज अझै पनि कानमा गुन्जिन्छ, उनले भनेकी थिइन अरु ठाउँमा वाल लगाईयो हाम्रोमा लगाइएन, हाम्रो आवाज सुनिएन । जिल्ला प्रशासन, नगरपालिका, प्रहरी लगायत सबैलाई उक्त ठाउँको जोखिमको बारेमा राम्रो थाह थियो तर पनि किन रोकथाम र जोखिम न्युनिकरणमा ध्यान गएन ? भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री पद्माकुमारी अर्यालको माइती गाउँ रहेको उक्त ठाउँमा स्वयं माननिय मन्त्री जाँदा त्यहाँका नेपाली परिवारले बाटो छेकेर पहिरो नझर्ने बनाइदेउ भन्दा समेत कसैले नसुनेको भनेर स्थानियले सुनाउछन । केहि ठाउँमा वाल लगाईयो तर सबैभन्दा जोखिम रहेको ठाउँमा लगाईएन । त्यस्तै पटक पटक वडालाई भन्दा समेत नसुनेको भनेर गुनासो पोखाउँछन । वर्षौँदेखि उक्त ठाउँमा बस्दै आएका उनीहरु आखिर सरकारी वेवास्ताको सिकार बने । जुन भन्ने परिवार नै नरहेपछि आखिर पैसाले के हुन्छ र ? यो त एक उदाहरणमात्र हो ।

साउन महिनामा अविरल वर्षाको कारण पोखरा–१८ सराङकोटमा पहिरोले एकै परिवारका ५ जनाको ज्यान लियो, त्यस्तै माछापुच्छ्रे गाउँपालिका–८, खोराकोमुख पाखाबेसीमा एकै परिवारको ३ जनाको ज्यान लियो । दुवै ठाउँमा पहिरो जानुको कारण जथाभावी रुपमा बनेका सडकहरु नै थिए । अनुगमनले जोखिम रहेको कुरा पहिल्यै पत्ता लगाएको थियो तर उक्त दुर्घटनालाई रोक्न भने सकेन । त्यस्तै बागलुङको ढोरपाटनमा पहिरोले सयौँ घर बगायो, पाँच सयभन्दा बढी घरबारबिहिन भए, कति वेपत्ता भए । जिल्ला भूसंरक्षण कार्यालयले पहिल्यै स्थलगत सर्वेक्षण गरी उक्त ठाउँलाई उच्च जोखिमयुक्त ठाउँ किटान गरेको थियो तर पनि उचित पहल हुन नसक्दा ठूलो क्षति भयो ।

गोरखापत्रमा लेखिए अनुसार म्याग्दीमा पहिरो जान सक्ने खतराको संकेत भएको नक्सा बनेको थियो तर नक्सा बाकसमै थन्कियो । म्याग्दीसम्मै पुग्न सकेन र धेरैको ज्यान लियो । वर्षैपिच्छे पहिरोले मानिसहरुको ज्यान लिईरहेको छ, यसको न्युनिकरण र रोकथाममा उचित कदम चालिएन भने प्रत्येक वर्ष यहि हालत हुन्छ । तराई डुबानमा पर्छ तर अगाडी नै रोक्ने पुर्वतयारी शुन्य हुन्छ । नारायणगड–मुग्लिन सडक खण्ड सँधै पहिरोले चर्चित छ । पुर्वतयारीको पाटो सँधै कमजोर हुन्छ । जनताले सँधै बाटोमा शास्ती मात्र खेप्नुपर्ने । वर्षायाममा बाटो खन्दै हिड्छन । घरको आगन, पिँढी र जग नै उडाएको हुन्छ सडकले । आखिर दिर्घकालिन योजना राखेर घर, सडक बनाउन दिए हुँदैन र? योजना र पुर्वतयारी भन्दा पनि उद्धार र राहतमा मात्र सरकार व्यस्त देखिन्छ । परिवारको सबै सदस्य गुमाएको मान्छेलाई राहतले के मल्हम लगाउन सक्छ र ? विपत्तिबाट पाठ सिकेर न्युनिकरण तिर कहिले लाग्ने होला । बिकास गर्नुपर्छ, बिकासको विरोधमा यो लेख हैन,सडक बिकासले नेपालमा ठूलो टेवा दिएको छ तर जोखिमको क्षेत्रलाई अध्ययन गरेर । प्रत्येक वर्षको भोगाईलाई आगामी वर्षको लागि कार्ययोजना बनाई सहि रुपमा कार्यान्वयन गरे कसैले ज्यान गुमाउन पर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *