फुटबल प्रेमीलाई खुसीको खबर !! ला लिगा १२ जुनबाट शुरु हुँदै
एजेन्सी – कोरोना भाइरसको प्रकोपले स्थगित ला लिगा पुन शुरु हुने भएको छ । १२ जुनदेखि शुरुहुन गईरहेको खेलमा सेभिया र रियल बेटिसबीच पहिलो खेल हुने जानकारी स्पेनिस ला लिगा आयोजकबाट प्राप्त भएको छ ।
ला लिगा आयोजकले यसबारे आधिकारिक धारणा सार्वजनिक नगरेपनि २८ मेमा बस्ने बैठकले निर्णय गर्नेछ । बैठकले सिजनको बाँकी रहेको खेलको तालिका तथा अर्को सिजनको खेलको मिति घोषणा गर्न सक्नेछ । सेभियाका खेलकुद निर्देशक मोन्चीले स्पेनमा फुटबल फिर्ताको लागि उत्सुक रहेको र सेभिया र रियल बेटिसबीचको डर्वी खेल शानदार हुने बताएका छन् । स्पेनिस क्लबहरुले गएको सोमबारदेखि कम्तीमा १० जनाको समूह बनाएर नन कन्ट्याक्ट प्रशिक्षण शुरु गरिसकेको छ । ला लिगामा अझै ११ चरणको खेल बाँकी रहेको छ । ११ चरण खेल बाँकी रहँदा बार्सिलोना ५८ अंक जोडेर शीर्षस्थानमा रहेको छ । ५६ अंक जोडेर रियल म्याड्रिडले बार्सिलोनालाई पछ्याइरहेको छ । ला लिगा पुनः सुचारु गर्नको लागि ला लिगाले स्पेनको शीर्ष दुई डिभिजनको खेलाडीको कोरोना भाइरस परिक्षण गरेको थियो । जसमा ५ खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
जर्मन बुन्डेस लिगा गत सातादेखि बन्द रंगशालामा शुरु भइसकेको छ ।यसैगरी स्पेनिस ला लिगा, इंग्लिस प्रिमियर लिग र इटालियन सिरी “ए” पनि सिघ्र शुरु हुने तयारीमा रहेका छन ।