बाँकेका २१ जना निको भई अस्पतालबाट घर फर्किए, निको हुनेको कुल संख्या ७०
नेपालगञ्ज । नेपालगञ्जका २१ जना कोरोनाभाइरस संक्रमणबाट निको भएर शुक्रवार दिउँसो घर फर्किएका छन् । बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचारत उनिहरुको लगातार दोस्रो रिपोर्ट पनि नगेटिभ आएपछि आज उनिहरुलाई डिस्चार्ज गरिएको छ ।
डिस्चार्ज हुनेहरुमा ७ वर्षिय बालिकादेखि ६० वर्षका पहिलो संक्रमित समेत रहेका छन् ।
कोरोनालाई पराजित गर्ने २१ जनालाई अस्पतालको हाता भित्र भेरी अस्पतालका प्रमुख डा.प्रकाश थापा लगायत स्वास्थ्यकर्मीहरुले फुलको गुच्छा दिएर विदाई गरे। सो अवसरमा उनले अझैपनि केही दिन घरमा गएर एकान्तवासनै बस्न सल्लाह सुझाव दिंदै लकडाउनको पालना गर्न आग्रह गरे ।
देशमै पहिलोपटक एकै पटक ठूलो संख्यामा कोरोना भाइरस पोजेटिभ निको भएर घर फर्किएका हुन् ।
खजुरास्थित क्यान्सर अस्पतालमा उपचारत बाँके नेपालगन्जका २१ जना कोरोना संक्रमितहरु निको भएपछि एकैपटक डिस्चार्ज गरिएको भेरी अस्पतालका प्रमुख डा.थापाले बताउनु भएको हो । कोरोना विशेष अस्पतालमा उपचाररत ती संक्रमितहरुको दुई पटक लगातार परीक्षण गर्दा रिपोर्ट नभेटिएपछि डिस्चार्ज गरिएको थियो । अस्पतालमा रहेका नेपालगञ्जका २५ जना मध्ये ३ जनाको रिपोर्ट पोजेभिटनै आएको र एकजनाको समय नपुगेकोले ४ जना अझै एक साता अस्पतालमा रहने र त्यसपछि परिक्षण गरेर नगेटिभ आएमा घर पठाइने अस्पतालले जनाएको छ । सो अस्पतालमा नेपालगञ्जका चार सहित अन्य सात जना उपचाररत छन्
बाँकेमा गत वैशाख १९ गते पहिलोपटक नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षिय बृद्धमा कोरोना पोजेटिभ पाइएको थियो । त्यसपछि उनको सम्पर्कमा आएका थप २४ जनामा संक्रमण देखिएको थियो । कोरोना जितेर उनिहरु घर पुगेपछि उनिहरुको टोलमा समेत भव्य स्वागत गरिएको छ । टोलमा गेट बनाएर पुष्प वर्षागरि उनिहरुको स्वागत गरिएको वडा नम्बर ८ का स्थानीय अगुवा शमसुद्दिन सिद्दिकीले बताए ।