एसईईः आवेदन फारम खुल्यो, विद्यार्थीलाई कसरी परीक्षामा सहभागी गराउने भन्ने चिन्ता
बिबिसी । चालु शैक्षिक वर्षको एसईई परीक्षाको फारम खुलेपछि देशभरि अभिभावक तथा शिक्षकलाई विद्यार्थीलाई कसरी परीक्षासम्म पुर्याउने भन्ने चिन्ता थपिएको छ।
कोरोनाभाइरसको महामारीका कारण धेरै महिना विद्यालय जान नपाएका विद्यार्थीलाई यस वर्ष परीक्षा दिनेसम्मको वातावरण बनाउन शिक्षक तथा अभिभावकमा चिन्ता थपिएको हो। शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार एसईई परीक्षाका लागि विद्यार्थीले भर्ने आवेदन फारम खुलिसकेको छ।
तर शिक्षकहरूका अनुसार अहिलेसम्म १० प्रतिशत पनि कक्षा १० को पढाइ हुन सकेको छैन। राष्ट्रिय परीक्षा बोर्डले निकालेको सूचनाअनुसार एसईई परीक्षाका लागि आवेदन फारम बिहीवारदेखि माघ २१ गतेसम्म भरिसक्नुपर्नेछ।
अहिलेसम्मको पढाइ प्रभावकारी भएन
कोरोनाभाइरस महामारीका कारण धेरै महिना विद्यालय बन्द भएका कारण शिक्षा मन्त्रालयले वैकल्पिक विधिद्वारा सिक्ने र सिकाउने अभ्यास गर्न तथा गराउन विद्यालयहरूलाई आग्रह गरेको थियो।
इन्टरनेटको पहुँच भएका स्थानका विद्यालयले अनलाइन विधिबाट कक्षा चलाउने प्रयास पनि नगरेका होइनन्। तर पछि विद्यार्थी कक्षामा उपस्थित हुँदा इन्टरनेटबाट पढाइएको कुरा पुनः कक्षामा दोहोर्याउनुपर्ने बाध्यता आएको झापाको बिर्तामोडमा रहेको देवी माध्यमिक विद्यालयका शिक्षक लीलाप्रसाद भण्डारीले बताए।
उनले भने, हामीले इन्टरनेटबाट पनि पढायौँ। आलोपालो गरेर विद्यार्थी बोलाएर पनि पढायौँ। तर अनलाइन कक्षामा पढाएको कुरा जानेका विद्यार्थी एक/दुई जना मात्र पायौँ।
उनले पहिलाको जस्तै चैत महिनामा एसईई परीक्षा सञ्चालन भए ५० प्रतिशत पनि पाठ्यभार पढाउन गाह्रो हुने बताए। भण्डारीले भने, चैत महिनामा त परीक्षा लिने सम्भावना देखिँदैन। अहिले १० प्रतिशत कोर्स सकिएको छ भने त्यो बेला ५० प्रतिशत पुग्ला। चैतमा कसरी परीक्षा हुन्छ र? सामुदायिकलगायत निजी विद्यालयले पनि पढाइलाई नियमित बनाउन सकिरहेका छैनन्। बिर्तामोडकै बिर्ता मोडल माध्यमिक विद्यालयका प्राचार्य उत्तम खनालका अनुसार अहिले गत वर्षको एसईई परीक्षाकै स्थिति बन्छ भन्नेमा विद्यार्थी ढुक्क रहेका देखिन्छन्। उनले भने, किन पढ्नु र? विद्यालयले अङ्क दिइहाल्छ भन्ने पनि विद्यार्थीमा परेको देखिन्छ।
विद्यार्थीलाई दबाव
विगतका वर्षहरूमा पनि परीक्षाको आवेदन फारम भरिसकेपछि विद्यार्थीहरू परीक्षाको तनाव लिने गर्थे। अहिले त झन् विद्यालय नै जान नपाएका विद्यार्थीका लागि परीक्षा आवेदन फारम खुलाएपछि परीक्षाको प्रेसर झन् बढाएको अभिभावकहरू बताउँछन्। झापाको चारपानेमा रहेको मोहनमाया माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययन गरिरहेका एक छात्रका अभिभावक महेन्द्र खवासका अनुसार अनलाइन कक्षा सञ्चालन भए पनि भौतिक रुपमा कक्षा नभएकाले परीक्षाको चिन्ता थपिएको छ।
उनले भने, भौतिक रूपमा उपस्थित भएर पढे जस्तो नभएकाले कुन किसिमले परीक्षा हुने हो भन्ने पनि चिन्ता भएको छ। उनले अहिलेको परिस्थितिलाई हेरेर परीक्षाको मोडल र समय तालिका बनाउन पनि परीक्षा नियन्त्रण कार्यालयलाई आग्रह गरेका छन्। विगतका वर्षहरूमा एसईई परीक्षा चैत महिनामा सञ्चालन गरिने गरिएको भए पनि यस सोही समयमा हुने सम्भावना कम रहेको शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले बताए। उनले अहिलेसम्मको पढाइ प्रगति हेर्दा केही समय एसईई परीक्षा सार्नुपर्ने अवस्था रहेको बताए। शर्माले भने, सबैतिर आएको सुझावअनुसार एसईई परीक्षा केही समय सार्नुपर्ने अवस्था छ।
विद्यालय लगातार सञ्चालन गर्ने वातावरण नहुँदा अपनाइएको वैकल्पिक विधि पनि प्रभावकारी नभएपछि पाठ्यभार पूरा गर्नका लागि पनि परीक्षा सार्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।