विश्वभर फैलियो कोरोना भाइरसको नयाँ स्वरूप
एजेन्सी । कोरोनाको नयाँ स्वरूप झन् बढी संक्रामक, छोटो समयमै संक्रमण युरोपबाट अमेरिका र एसियासम्म फैलियो ।
कोरोना भाइरस (कोभिड–१९) महामारीका रूपमा विश्वभर फैलिएको वर्ष दिनभन्दा बढी भइसकेको छ । अहिलेसम्म देखिएको रोगमध्ये संक्रामक र धेरै हदसम्म घातक देखिएको कोरोना भाइरसको प्रभाव अझै उस्तै तीव्र छ । यसको रोकथाम गर्न मद्दत गर्ने केही भ्याक्सिन प्रयोगमा आएका छन् ।
केही देशले आममानिसलाई भ्याक्सिन लगाउने अभियान ९मास भ्याक्सिनेसन०लाई तीव्रता दिइरहेको समयमा कोरोना भाइरसको नयाँ स्वरूप देखापरेको छ । कोरोनाको नयाँ स्वरूप अझ बढी संक्रामक रहेको जनाइएको छ । यो छोटो समयमै धेरै देशमा फैलिएको छ ।
पहिलोपटक गत सेप्टेम्बरमा बेलायतमा देखिएको भाइरसको यो नयाँ स्वरूप युरोपका धेरै देशदेखि जापान र क्यानडामा समेत देखिएको अधिकारीहरूले जनाएका छन् । यसले मानव जीवनमाथि यो महामारीमा थप चुनौती थपेको छ । यो चुनौती भाइरसविरुद्ध भ्याक्सिनको निर्माण गरेको कम्पनीमाथि पनि छ ।
भाइरसको नयाँ स्वरूप संक्रामक देखिए पनि पहिलेको भन्दा कत्तिको घातक छ भन्ने तथ्य भने अझै प्राप्त भइसकेको छैन । तीव्र गतिमा फैलिने क्षमताको यो भाइरसले युरोपमा चाँडै पकड बनाएको छ । युरोपका स्पेन, स्विजरल्यान्ड, स्विडेन र फ्रान्सले कोरोना भाइरसको नयाँ स्वरूप भेटिएको जनाएका छन् । विशेष गरी बेलायतबाट आएका व्यक्तिहरूमार्फत नयाँ स्वरूपको कोरोना भाइरस संक्रमण भित्रिएको जनाइएको छ ।
क्यानडाको ओन्टारियोमा एक दम्पतीमा संक्रमण देखिएको हो । ती दम्पतीको भ्रमण इतिहास र कोही संक्रमितको सम्पर्कमा पुगेको तथ्य थाहा नभएको जनाइएको छ । कोरोना भाइरसको नयाँ स्वरूप भेटिएपछि धेरै देशले यसलाई रोक्ने प्रयास गरे पनि सफल देखिएका छैनन् । बेलायतमा पहिलोपटक नयाँ स्वरूपको भाइरस देखिएको समाचार आएलगत्तै धेरै देशले भ्रमण र उडानमा प्रतिबन्ध लगाएका थिए । बेलायत आफैँले पनि धेरै देशमा हुने आफ्नो हवाई सेवा बन्द गरेको थियो ।
नयाँ भाइरसको संक्रमण युरोपबाट अमेरिका र एसियासम्म आइपुगेको छ । जापानले सोमबारबाट विदेशी नागरिकलाई प्रवेश गर्न रोक लगाइएको घोषणा गरेको छ । जापानमा सुरुवातमा बेलायतबाट आएका पाँचजनामा एकैपटक कोरोनाको नयाँ स्वरूपको संक्रमण देखिएको थियो । त्यसपछि पनि जापानमै अरू थप दुईजनामा यो संक्रमण पुष्टि भएको छ । त्यसमध्ये एउटा संक्रमण समुदायस्तरमै भएको जनाइएको छ ।
युरोपियन युनियनअन्तर्गतका धेरै देशहरूले मास भ्याक्सिनेसन सुरु गरेको समयमै कोरोना भाइरसको नयाँ स्वरूप देखिएको हो । प्रयोगका लागि हाल मान्यता पाएका भ्याक्सिनले यो नयाँ स्वरूपको संक्रमणलाई रोक्न मद्दत गर्ला या नगर्ला रु त्यो पनि हेर्न बाँकी छ ।
अहिलेसम्म युरोप र अमेरिकालगायत अरू केही महादेशका देशहरूले अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोन्टेकले निर्माण गरेको र अमेरिकी कम्पनी मोडर्नाले निर्माण गरेको भ्याक्सिन लगाउन सुरु गरेका छन् । रुसले आफैँले निर्माण गरेको स्पुतनिक फाइभ भ्याक्सिन प्रयोगमा ल्याएको छ ।
बेलायत, अमेरिकालगायत देशले यसअघि नै मास भ्याक्सिनेसन सुरु गरिसकेका छन् । केही देशले हालै सुरु गरेका छन् । उत्तर पूर्वी जर्मनीमा कार्यरत स्वस्थ्य कर्मचारीहरूले हालै प्रमाणित भएको फाइजर बायोन्टेक भ्याक्सिन लगाउन आतुर रहेको जनाएका छन् ।
उनीहरूले स्याहार केन्द्रमा बसेका वृद्धवृद्धालाई प्राथमिकतामा राखेर भ्याक्सिन लगाउन सुरु गरेका छन् । हंगेरीमा त्यहाँको सरकारी समाचार एजेन्सीले जनाएअनुसार पहिलो चरणमा डक्टरलाई भ्याक्सिन लगाइएको छ । डेल–पेस्ट केन्द्रीय अस्पतालमा कार्यरत डाक्टरलाई पहिलो चरणमा भ्याक्सिन लगाइएको जनाइएको छ । स्लोभाकियामा पनि सरकारी अधिकारीहरूले भ्याक्सिन लगाउन सुरु गरिएको बताइएको छ ।
बेलायतबाटै फैलियो नयाँ स्वरूपको भाइरस
क्यानडामा संक्रमित भएका दम्पती दुर्हामका हुन्, जुन टोरोन्टोनजिकै पर्दछ । उनीहरू अहिले आफ्नै घरमा आइसोलेसनमा बसिरहेका छन् । जापानमा संक्रमित देखिएकामध्ये दुईजना २० वर्षका पाइलट हुन्, जो १६ डिसेम्बरमा लन्डनबाट जापान फर्किएका थिए । यस्तै, २० वर्षका एक महिलालाई पनि संक्रमण देखिएको थियो, जसको परिवारको एकजना सदस्य कतै भ्रमणमा गएको भेटिएको छैन ।
स्पेनमा चारजनामा नयाँ स्वरूपको कोरोना भाइरस संक्रमण भएको देखिएको छ । स्पेनको म्याड्रिडमा भेटिएका यी चारैजना बेलायतबाट फर्किएका थिए । उनीहरूमा संक्रमण देखिए पनि गम्भीर खालको कुनै समस्या भने देखिएको छैन ।
स्विजरल्यान्डमा तीनजनामा नयाँ स्वरूपको संक्रमण देखिएको छ । त्यसमध्ये दुईजना बेलायती नागरिक हुन् ।
कोरोना भाइरसको नयाँ स्वरूप पहिलोपटक गत सेप्टेम्बरमा दक्षिणी इंग्ल्यान्डमा देखिएको हो । डेनमार्क, जर्मनी, इटाली, नेदरल्यान्ड्स र अष्ट्रेलियाले पनि कोरोना भाइरसको नयाँ स्वरूपको संक्रमण भेटिएको घोषणा गरेका छन् ।
स्विजरल्यान्डले क्रिसमस र नयाँ वर्षमा आफ्नो देशमा स्की गर्न आउने पर्यटकलाई स्वागत गरिरहेको छ । स्विट्जरल्यान्ड यो संकटमा पनि पर्यटकलाई यस्तो सेवा खुला गर्ने युरोपको एक्लो देश हो । पछिल्लो केही साता स्की खेल्नकै लागि बेलायतबाट धेरै पर्यटक स्विट्जरल्यान्ड पुगेका हुन् ।
स्विडेनले बेलायतबाट फर्किएका एकजना बिरामी परेको र उनमा कोरोना भाइरसको नयाँ स्वरूपको संक्रमण देखिएको जनाएको छ । उनी बेलायतबाट फर्केदेखि नै आइसोलेसनमा बसिरहेका छन् । फ्रान्सले नयाँ स्वरूपको भाइरस संक्रमण देखिएको घोषणा गरेको छ ।
टउर्सस्थित राज्यमा एक फ्रान्सेली नागरिकमा संक्रमण देखिएको छ । उनी गत १९ डिसेम्बरमा लन्डनबाट फर्किएका थिए । बेलायतमै बस्ने उनमा संक्रमणको कुनै लक्षण भने देखिएको छैन । यस्तै, डेनमार्क, जर्मनी, इटाली, नेदरल्यान्ड्स र अष्ट्रेलियाले पनि कोरोना भाइरसको नयाँ स्वरूपको संक्रमण भेटिएको घोषणा गरेका छन् ।
कोरोना भाइरस ९कोभिड–१९० को नयाँ स्वरूप पहिलोपटक दक्षिणी इंग्ल्यान्डमा देखिएको हो । त्यहाँ गत सेप्टेम्बरमा नयाँ स्वरूपको भाइरस देखिएको थियो । लन्डन, दक्षिण–पूर्वी इंग्ल्यान्ड र पूर्वी इंग्ल्यान्डमा पछिल्लो समय तीव्र बनिरहेको संक्रमण नयाँ भाइरसकै कारण भएको जनाइएको छ । यी क्षेत्रमा तीन भागको दुई भाग मानिसमा संक्रमण देखिएको जनाइएको छ । यो संक्रमण कोरोना भाइरसको नयाँ स्वरूप भएको अनुमान गरिएको छ । यद्यपि, यसको वैज्ञानिक पुष्टि भने भएको छैन ।
एजेन्सी