रुस–युक्रेन युद्धको असर नेपाली भान्सामा, चरम मुल्य वृद्धि हुँदै
चैत ९ । युक्रेनमाथि रुसको सैनिक हमलाको सिधा असर नेपालीको भान्सामा परेको छ । ती दुई देशबीच द्वन्द्वको कारण देखाउँदै नेपालमा सबैजसो खाद्यवस्तुको मूल्य छोइनसकेका छन् ।
त्यो मात्रै होइन युद्ध सुरु हुनुअघि नै अन्तर्राष्ट्रिय बजारमा बढ्न थालेको डलर र पेट्रोलियम पदार्थको मूल्यलाई रुस र युक्रेनको सैन्य भिडन्तले अरू बढाएको छ । त्यसै आधारमा नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसको असर समग्र क्षेत्रमा परेको छ ।
व्यापारीहरू भने यी दुईभन्दा बेग्लै अरू कारणले पनि मूल्य बढाउने गरेको दाबी गर्छन् । बैङ्कहरूले बढाएको ब्याजदर र निर्वाचन घोषणा भएपछिका राजनीतिक र अन्य कारणले पनि मूल्य बढाएको दाबी उनीहरूको छ । यस आधारमा नेपाली उपभोक्ता सर्वसाधारण मूल्य वृद्धिको पञ्चाग्निमा सेकिएका छन् ।
रुस–युक्रेन युद्धले पेट्रोलियम पदार्थ मात्र नभई खाने तेलमा समेत प्रत्यक्ष असर पारेको हो । खाने तेल र कच्चा पदार्थ रुस र युक्रेनबाट आउनेमा त्यो बन्द भएको छ तर त्यो मात्र नभई दाल, चामल, चिनी, तरकारी, फलफूललगायत सबैजसो वस्तुको मूल्य दिनदिनै उकालो लागिरहेको छ । स्थानीय तह निर्वाचनका कारण मूल्य वृद्धिको असर अब देखिने व्यापारीको भनाइ छ ।
नेपाल खुद्रा व्यापार सङ्घका पूर्वअध्यक्ष पवित्रमान वज्राचार्य भने यसमा व्यापारीको दोष देख्छन् । उनले भने, “ठूला व्यापारीलाई मूल्य बढाउन के निहुँ पाऊँ भएकाले ठूला व्यापारीलाई गतिलो अवसर मिल्यो । उनीहरूको अनुगमन हुँदैन खुद्रा पसलमा सरकारी निकाय आउँछन् ।”
सङ्घका अनुसार २०७६ फागुनमा कोरोना आएयता बढ्न थालेको खाद्यवस्तुको मूल्य वृद्धि अहिलेसम्म जारी छ । २०७७ फागुनसम्म आइपुग्दा विश्वको आपूर्ति प्रणाली नै ध्वस्त पार्ने गरी कोरोना महामारी विश्वव्यापी रूपमा फैलिँदा त्यसको अन्तर्राष्ट्रिय प्रभाव नेपालमा पनि परेको हो ।
सङ्घले २०७६ फागुनमा प्रतिलिटर २७० रुपियाँमा पाइने भुटेको तोरीको तेल मूल्य २०७८ फागुनमा प्रतिलिटरमा १३० रुपियाँ बढेर चार सय रुपियाँ पुगेको जनाएको छ । यस्तै, सो अवधिमा काँचो तोरीको तेल प्रतिलिटर १७० बाट बढेर ३८५, भटमास तेल प्रतिलिटर १६० बाट बढेर २७०, सूर्यमुखी प्रतिलिटर १६० बाट २९० रुपियाँ पुगेको छ । नेपाली घ्यू प्रतिलिटर ८५० बाट बढेर एक हजार दुई सय रुपियाँ पुगेको छ । तीन वर्षको मूल्य हेर्दा प्रतिलिटर घ्यूमा ३५० रुपियाँ बढेको छ ।
त्यस्तै, २०७६ फागुनमा प्रतिकेजी ७० रुपियाँ खुद्रा मूल्यमा पाइने ताइचिन चिउरा १३० रुपियाँ र प्रतिकेजी ८० रुपियाँमा पाइने चिनी प्रतिकेजी सय रुपियाँ पुगेको छ । यीबाहेक, चामल, मासको दाल, जिराको पाउडरलगायत धेरैजसो वस्तुको मूल्य निरन्तर बढिरहेको छ । सङ्घका महासचिव अमुलकाजी तुलाधरले सबै खाद्यवस्तुको मूल्य बढेको कुरा सरकारका नियमनकारी निकायलाई राम्ररी थाहा भए पनि मौन बसेको बताए ।
उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले युद्धको कारण देखाउँदै व्यापारीले मनलाग्दी मूल्य बढाउँदा सरकारका नियमनकारी निकाय रमिते बनेको आरोप लगाउनुभयो । “बजार अनुगमन र नियन्त्रण गर्ने नियामक निकाय नै लामो समयदेखि नेतृत्वविहीन हुँदासमेत सरकारले ध्यान दिएको छैन, यो कुराले सरकार नै मूल्य बढाउने पक्षमा भएको स्पष्ट हुन्छ,” उनले थपे।
नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घले भने हल्लाकै भरमा मूल्य बढाएको भन्नेमा कुनै सत्यता नभएको दाबी गरेको छ । सङ्घले २०२२ जनवरीमा कच्चा भटमास प्रतिमेट्रिक टन एक हजार ४५० डलर रहेकोमा मार्चमा एक हजार ८६८ डलर, कच्चा सूर्यमुखी एक हजार ४६० डलरबाट दुई हजार १२५ डलर पुगेको जनाएको छ ।
सङ्घका अध्यक्ष सन्दीप अग्रवालले युक्रेन र रुसबीचको युद्ध मत्थर हुनेबित्तिकै कच्चा तेलको आयात सुचारु हुने भएकाले आम उपभोक्तालाई अनावश्यक तेल खरिद गरेर घरमा नथुपार्न आग्रह गरे । बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने बजारलाई सकेसम्म चुस्त दुरुस्त गराउन दैनिक तीनरचार टोलीले नियमित अनुगमन गरिरहेको जनाएको छ । बजारमा पछिल्ला दिन सबै सामानको मूल्य बढेको भन्दै विभागका निर्देशक हरि पङ्गेनीले केही वस्तुको मूल्य वृद्धि स्वाभाविक भएको र केहीको अस्वाभाविक भएको पाइएको बताए ।
अनुगमनका क्रममा अस्वाभाविक रूपमा मूल्य बढेको पाइएका व्यापारिक फर्म वा उद्योगलाई अनुगमन गरेर अनुगमन अधिकृतले जरिवाना गर्ने काम नियमित भइरहेको उनको भनाइ छ । विभागले पछिल्लो पटक वस्तु उत्पादन गर्ने मुख्य स्रोतमै अनुगमन गरेर वस्तु मौज्दात अवस्था बुझेर आपूर्ति अवस्थालाई व्यवस्थित गर्न निर्देशन दिने काम भएको निर्देशक पङ्गेनीले जानकारी दिए । गोरखापत्र दैनिकमा सीता शर्माले खबर लेखेकी छन् ।
गोरखापत्रबाट