खुला ठाउँमा खाना खान आउनेलाई काठमाण्डौ महानगरले काम दिने

आर्थिक नेपाल मुख्य समाचार

काठमाण्डौ, मंसिर ३ गते । काठमाण्डौ महानगरपालिकाले खुला ठाउँमा खाना खान आउनेलाई काम दिने भएको छ । काम गर्न सक्नेहरुलाई हप्ताको दुईदिन काम दिएर १४ सय रुपैयाँ दिने तयारी भइरहेको काठमाण्डौ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिनुभयो । कसैको ठूलो परिवार छ भने उनीहरुमध्ये २ जनालाई काममा लगाउने र काममा लगाएबापत हप्ताको १४ सय रुपैयाँको दरले दिइने उहाँको भनाइ छ । तर, काम गर्न नसक्नेहरुका लागि भने व्यवस्थापनका लागि आवश्यक तयारी भइरहेको महानगरपालिकाले जनाएको छ ।

यसैबीच, महानगरपालिकाले आज खुला ठाउँमा खान खुवाउने अभियान्ताहरुलाई बोलाएको छ । तिहारअघि, तिहारपछि खुला ठाउँमा खाना नखुवाउने सहमति भए पनि सहमति कार्यन्वयन नभएकाले अब के गर्ने भन्नेबारे छलफल गर्न महानगरपालिकाले उनीहरुलाई बोलाएको महानगरपालिकाका प्रवक्ता डंगोलले बताउनुभयो । तिहारअघि भएको छलफलमा तिहारपछि खुला ठाउँमा खाना खुवाउन रोकेर भाडामा ठाउँ लिएर खाना खुवाउने अभियान चलाउने सहमति भएको थियो । सहमतिअनुसार खाना खुवाउने ठाउँको भाडा महानगरपालिकाले व्यहोर्ने रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *