पर्यटकको पर्खाइमा पञ्चासेको काखमा रहेको कुपी छहरो (भिडियो सामाग्री सहित)
पोखरा, असोज ३० । जति पञ्चासे प्रख्यात छ, यसको काखबाट बग्ने खोला र त्यहाँबाट बनेको महभिरको झरना अर्थात कुपी छहरा गुमनाम छ । प्राकृतिक सुन्दरताले सजिएको देश नेपालमा सुन्दर झरनाहरुको कमि छैन । कति झरनाहरु नाम चलेर पर्यटकहरु आकर्षण गर्न सफल छन भने कतिको नामै समेत मानिसहरुले सुनेका छैनन । कुुश्मा नगरपालिका वडा नं– १४ र मोदी गाउँपालिका पर्वतको सिमानामा रहेको यो झरना पर्यटकिय दृष्टिकोणले निकै नै सम्भावना बोकेको झरना हो । दोविल्लाबाट दुईघण्टाको बाइकको यात्रामा पुग्न सकिने यो झरनाको नजिकैबाट मोटरबाटो पनि निर्माण भएको छ । यहाँ हामी मोदी गाउँपालिकाको बाटो वा पोखराबाट आर्थर हुँदै तल झरेर पुग्न पनि सकिन्छ ।
सँधैभरी सुन्दर इन्द्रेणी देखिने यो झरनामा पहिले मानिसहरु ताउला खसेर तर्साउँछ पनि भन्दथे । वरीपरिका बेँसीका खेतहरुमा धान रोपाईपछि पहिले मानिसहरु यहाँ आएर नुहाउँदथे, पौडी खेल्दथे । तर विडम्बना आज बेंसीका खेतहरु पनि निकै बाँझो छन र झरनापनि मानिसहरुको पर्खाइमा बसेको छ ।
स्थानियहरु यसलाई पर्यटकिय क्षेत्रको रुपमा सबैमिलेर बिकास गर्नुपर्ने कुरामा जोड दिँदछन भने, कु.न.पा–१४, आर्थरडाँडाखर्कका वडाअध्यक्ष भीम प्रसाद गुरुङ पनि जसरी पञ्चासेलाई चिनाउन सकियो त्यसरी महभिरलाई चिनाउन नसकेको कुरा व्यक्त गर्नुहुन्छ । उहाँले यो झरना निकट भविष्यमा पर्यटकिय स्थानको रुपमा विकास गराउन आर्थरडाँडाखर्कको पञ्चकोशी समाज लगायत अन्य बौद्धिक व्यक्तित्वहरुले पनि चिन्ता गरेको कुरा व्यक्त गर्नुहुन्छ । यसलाई भविष्यमा पर्यटकिय स्थलको रुपमा विकास गरी यसबाट देशलाई आर्थिक उपार्जन गर्ने बाटोमा टेवा दिन सके अति नै राम्रो हुन्छ ।