लिभरपुल बन्यो प्रिमियर लिग च्याम्पियन
एजेन्सी । लिभरपुल इंग्लिस प्रिमियर लिगको च्याम्पियन बनेको छ । बिहीबार लिग अन्तर्गत भएको खेलमा चेल्सीले म्यानचेस्टर सिटीलाई २–१ गोलले हराएपछि लिभरपुलले ३० वर्षपछि उपाधि हात पारेको हो।
जारी सिजनमा सुरूदेखि नै उत्कृष्ट खेल देखाउँदै आएको लिभरपुलका लागि उपाधिमा कब्जा जमाउन एक जित वा म्यानचेस्टर सिटीको एक हारको आवश्यक्ता थियो। बिहीबार भएको खेलमा म्यानचेस्टर सिटी चेल्सीसँग पराजित भएपछि उपाधि कब्जाका लागि आवश्यक अन्तर लिभरपुललाई प्राप्त भयो र उसको लिग उपाधिको ३ दशकको लामो खडेरीको अन्त्य भयो। बिहीबार भएको खेलमा म्यानचेस्टरलाई पराजित गर्ने क्रममा चेल्सीका क्रिश्चियन पुलिसिकले खेलको ३६ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। सो अग्रतालाई म्यानचेस्टर सिटीले केविन डी ब्रुयनको गोलमा खेलको ५५ औं मिनेटमा बराबरी गरेको थियो। त्यसपछि विलियनले ७८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेपछि खेल चेल्सीले २–१ ले आफ्नो पक्षमा पार्यो। लिभरपुलले पछिल्लोपटक सन् १९८९–९० उपाधि जितेको थियो। उसले हालसम्म १९ पटक लिग उपाधि जितेको छ।
७ खेल अगाडी नै उपाधि जितेको लिभरपुलले लिगमा हालसम्म ८६ अंक जोडेको छ। यसैगरी दोश्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको लिगमा ३१ खेलबाट ६३ अंक छ। बिबिसीका अनुसार लिभरपुलको लिग उपाधि पक्का भएपछि हजारौं समर्थकले एन्फिल्डमा जम्मा भएर जितको खुशीयाली मनाएका छन ।