गण्डकी प्रदेशः थप १६ जनामा कोरोना संक्रमण पुष्टि
पोखरा, असार ७ । गण्डकी प्रदेशका बागलुङमा ९ जना, म्यादीमा ४ जना, पर्वतमा २ जना र तनहुँमा १ जनामा कोरोना संक्रमण देखिएसँगै थप १६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५ सय ४ पुगेको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार विहान ५ः४५ बजे सार्वजनिक गरेको विवरण अनुसार बागलुङको गल्कोट नगरपालिकाका ४ जना, ढोरपाटन नगरपालिकाका १ जना कोठेखोला गाउँपालिकाका ३ जना र बागलुङ नगरपालिकाका १ जना पुरुषमा संक्रमण देखिएको हो । उनीहरु २१ देखी ४८ बर्ष उमेर समुहका छन् । त्यसै गरि म्याग्दीको रघुगंगा गाउँपालिका २ जना महिला र एक जना पुरुष, मंगला गाउँपालिकाका १ जना पुरुषमा कोरना देखिएको छ । उनीहरु ९ बर्षिया बालिका देखी ३३ बर्षिय उमेर समुहका छन् ।
त्यसै गरी तनहुँको ऋषिङ गाउँपालिका १ जना, पर्वत कुश्मा नगरपालिका का २ जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिएका छन् । गण्डकी प्रदेशमा अहिले सम्म ५२ जना कोरोनालाई जितेर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ । उनीहरु सबैलाई सम्बन्धित जिल्लामा रहेको आइसोलेसनमा लैजाने तयारी भइरहेको जानकारी प्राप्त भएको छ ।