नेपालमा कारोनाको उद्गम थलो मानिएको भुल्के कोरोनामुक्त
पोखरा, जेठ २२ । कोशी अस्पताल विराटनगरअन्तर्गत कोभिड–१९ उपचार केन्द्रबाट बिहीबार २७ जना कोरोना भाइरसमुक्त भएसँगै उदयपुरको भुल्के सङ्क्रमणको अन्त्य भएको छ । गत वैशाख ५ गते उदयपुरको त्रियुगा–३, भुल्केमा भेटिएका १२ जना सङ्क्रमितमध्ये बाँकी रहेका एक जनाको डिस्चार्ज भएसँगै भुल्के सङ्क्रमणको निदान भएको हो । विराटनगर–१७ घर भई भुल्केस्थित मस्जिदमा रहेको अवस्थामा जमाती समूहका ५७ वर्षीय कासिम मियाँले ४८ दिनपछि कोरोना भाइरसलाई परास्त गरेका हुन । उनको डिस्चार्जसँगै भुल्के सङ्क्रमणको अन्त्य भएको प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो ।
डिस्चार्ज भएका २७ जनामध्ये उदयपुरका तीन जना रहेका छन् । भुल्केका यसअघि २७ जनाले कोरोना परास्त गरिसकेका छन । अस्पतालमा एक महिलासहित दुई जना अझै उपचाररत रहे पनि जेठ ९ गतेपछि भुल्के क्षेत्रमा नयाँ सङ्क्रमित नभेटिएको हो ।
भुल्केलाई कोरोनामुक्त बनाउन सफल बनाउनुका पछाडि कन्ट्याक्ट ट्रेसिङ, टेस्टिङ र ट्रिटमेन्ट प्रणाली रहेको बताउनुभयो ।
कोभिड–१९ उपचार केन्द्रबाट झापाका सात, मोरङका एक महिलासहित छ जना, सुनसरीका चार जना, धनकुटाका २ महिलासहित चार जना, खोटाङका एक जना र सप्तरीका २ जना डिस्चार्ज भएका हुन् । पछिल्लो लगातारको दोस्रो रिपोर्टमा कोरोना भाइरस नेगेटिभ देखिएपछि उनीहरूलाई डिस्चार्ज गरिएको जानकारी प्राप्त भएको छ।