थप ३३४ जनामा कोरोना संक्रमण, कुल सङ्ख्या २६३४, ज्यान गुमाउनेको संख्या १० पुग्यो
पोखरा, जेठ २२ गते । पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप ३३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नेपालमा सङ्क्रमित सङ्ख्या दुईहजार ६३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सो मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो । सङ्क्रमित हुनेमा पुरुष दुईहजार ४५०, र महिला १८४ रहेका छन् । देशभर २१ वटा स्थानमा रहेका प्रयोगशालामा गरिएका पीसीआर परीक्षणमा पर्सा १, झापा ५, ताप्लेजुग १, मोरङ २, सप्तरी १३, बारा १२, सिन्धुली १, रौतहट ३५, म्याग्दी १, बाग्लुङ १०, पर्वत ४, स्याङ्जा १, डोटी ३, बाँके ४२, कपिलबस्तु २५, दाङ १५, मुगु १, सुर्खेत २७, दैलेख ११४, खोटाङ ५, धुनषा ६, महोत्तरी ३ र सर्लाही ३ जनामा सङ्क्रमण भएको छ । त्यसैगरी कोरोना संक्रमणका कारणले नेपालमा ज्यान गुमाउनेको संख्या १० पुगेको छ । उनले पाल्पाको मिसन अस्पतालमा ज्यान गुमाएका हुन । पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा ज्यान गुमाएका पूर्वखोला गाँउपालिका–१ सिलुवाका ४५ बर्षीय पुरुष १८ गते मात्र भारतबाट आएका थिए र, शम्भु माविको क्वारेन्टिनमा बसेका थिए । स्वास्थ्यमा समस्या भएपछि उनलाई १९ गते अस्पताल लगिएको थियो ।