अति संवेदनशील मानिएको बाँके नरैनापुरको जनजीवन सामान्यतर्फ

नेपाल मुख्य समाचार स्वास्थ्य

पोखरा । तीव्र गतिमा कोरोना सङ्क्रमण फैलिइरहेको प्रदेश ५ मा कोरोनालाई जितेर घर फर्किनेको सङ्ख्या पनि उत्साहजनक वृद्धि भइरहेको छ । पछिल्लोपटक दाङमा आठ जना सङ्क्रमित निको भएर घर फर्केका छन । यो प्रदेशमा अति संवेदनशील मानिएको बाँकेको नरैनापुरको जनजीवन पनि सामान्यतर्फ फर्किन थालेको छ । यहाँ नेपाली सेना र विशेष चिकित्सकहरूको टोलीसमेत क्रियाशील छ ।
सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखा प्रमुख डा.उमाशंकर चौधरीका अनुसार प्रदेशमा अहिलेसम्म तीन सय ८३ जना सङ्क्रमित पत्ता लागेका छन् । तीमध्ये ४७ जना निको भएर घर फर्किसक्नुभएको छ । स्रोतका अनुसार एक मृतकसहित ११४ जनामा कोरोना सङ्कट देखिएको बाँकेको नरैनापुर क्षेत्रको जनजीवन समान्यीकरण हुन थालेको छ । क्वारेन्टाइनमा बसिरहेकाहरू नेगेटिभ रिपोर्ट आएपछि घर पठाइएका कारण क्वारेन्टाइनमा बस्नेको सङ्ख्या घटेको छ । नरैनापुरमा रहेका १५ क्वारेन्टाइनमा ८१४ जना रहेकोमा घटेर शुक्रबार दिउँसोसम्म २५३ पुगेको छ ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले सुरुवाती दिनमा अवस्था असहज भएपनि अहिले सामान्य भएको बताउनुभयो । क्वारेन्टाइनमा बस्नेहरूको सेवा सुविधामा ध्यान दिइएको छ, अध्यक्ष शाहले भन्नुभयो, एकसाथ धेरैजनामा सङ्क्रमण फैलिएको अवस्था भएपनि अहिले सबै सामान्य भएको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेले नरैनापुरमा निषेधित क्षेत्र लागु गर्दै नेपाली सेना परिचालन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *