किन नेपालगन्जमा एकै पटक धेरै सङ्क्रमित भेटियो ?
नेपालगन्जमा एकै दिन कोरोना भाइरसका १५ जना नयाँ सङ्क्रमित भेटिएपछि अचानक कसरी सङ्क्रमितको सङ्ख्या बढ्यो भन्ने प्रश्न धेरैमा जन्मिएको छ। त्यससँगै यो गति अब झन् बढ्ने त होइन भन्ने आशङ्का पनि थपिएको छ। स्वास्थ्य अधिकारीहरूले सङ्क्रमितहरू थाहा पाएर वा नपाएर लुकेर बसेको र सङ्क्रमितमा हालसम्म लक्षण पनि नदेखिएकाले पहिचान गर्न मुस्किल भएको अनुभव सुनाएका छन्। भेरी अस्पताल नेपालगन्जका प्रमुख डा.प्रकाश थापाले शङ्काको आधारमा परीक्षणको दायरा बढाउँदै जाँदा पछिल्ला सङ्क्रमित फेला परेको जानकारी दिए। उनका अनुसार बाँकेमा नमुना परीक्षण गर्न ढिलो हुँदा एक्कासी धेरै सङ्क्रमित देखिएका हुन्। उनले भने, पुराना सङ्क्रमितको समयमै पहिचान हुन नसक्दा नेपालगञ्जमा सङ्क्रमितहरू ह्वात्तै बढेको देखिएको हो, परीक्षणको दायरा बढाउँदै जाँदा अझै धेरै पत्ता लाग्न सक्छन्।
नेपालगन्जवासीले लकडाउनको पूर्ण पालना नगर्दा सङ्क्रमित एक्कासी बढेको कतिपयको भनाइ छ। प्रशासनले लकडाउनको पालना गराउन अनेक प्रयास गरे पनि स्थानीय बासिन्दाले नटेरेका कारण नेपालगन्जमा मानिसको चहलपहल बढी देखिएको नेपालगन्ज उमहानगरपालीकाकी उपप्रमुख उमा थापाको भनाइ छ।
उनले भनिन्, एक महिनाअघि भारतबाट फर्किएका पहिलो संक्रमित महेन्द्र पार्कस्थित मस्जिदमा नमाज पढ्न र बालबालिकालाई उर्दू भाषा पढाउन तीन जना स्थानीय बासिन्दाको घरैमा जाने गरेका थिए । उनको घरबाट महेन्द्र पार्क पुग्न मिनार मस्जिद रोड, एमपी स्कुल, रानीतलाउ मोड, जोलहनपूर्वा हुँदै जानुपर्छ । नमाज पढ्न उनी दिनमै तीनरचारपटक जान्थे । पुरानो र बाक्लो बस्ती भएकाले एउटै टोलमा धेरै जना संक्रमित भएको स्वास्थ्यकर्मीले जनाएका छन् । संक्रमण भेटिएका कुनै व्यक्तिमा पनि कोरोनासम्बन्धी लक्षण देखिएको थिएन । लकडाउनको समयमा पनि उक्त बस्तीका बासिन्दा एकअर्काको घरमा आउजाउ गर्दै आएका थिए ।सबैले लकडाउनको पालना गरेको भए सङ्क्रमित व्यक्ति घरघरमा पढाउन जाने थिएनन् र अहिले यो स्थिति आउने थिएन।
वैशाख ७ गतेदेखि भेरी अस्पतालमा पीसीआर उपकरण सञ्चालनमा आएपछि परीक्षणको दायरा बढाइएको थियो।
भारतको राजधानी दिल्लीस्थित तबलिगी जमातको कार्यक्रममा सहभागी भएर नेपालगन्ज फर्किएका तीन जनाको पहिचान भएपछि विभिन्न धर्मगुरुको पनि परीक्षण गरिएको मौलाना अब्दुल जब्बार मञ्जरीले जानकारी दिए। त्यसै क्रममा शुक्रवार पहिलो सङ्क्रमण पुष्टि भएको हो। लकडाउन अघि नै नेपालगन्जका सबै धर्मका अगुवाहरू एकजुट भएर धार्मिक स्थलहरूमा भिडभाड कम गरेका छौँ, मौलाना मञ्जरीले भने, यति गर्दागर्दै पनि नेपालगन्जमा एक्कासि सङ्क्रमण फैलिएकाले अब झन् सचेत हुनुपर्छ। कोरोनाभाइरस प्रभावित देशबाट आएका व्यक्तिहरू आफै स्वास्थ्यसंस्थाको सम्पर्कमा नआउँदा प्रशासनले खोज्नुपर्ने अवस्था रहेको अधिकारीहरूको गुनासो छ।
सबै नयाँ सङ्क्रमित पहिलो पटक पुष्टि भएका ६० वर्षीय सङ्क्रमितसँग सम्पर्कमा रहेका छन्। उनीहरू नेपालगन्ज उपमहानगर वडा नम्बर ८ स्थित मदरसाआसपासका बासिन्दा भएको अधिकारीहरूले जनाएका छन्। ती व्यक्ति दैनिक नमाजको अजान गर्न नेपालगन्जको महेन्द्र पार्कस्थित धार्मिक स्थलमा पुग्ने गरेको बताइएको छ। उनी भारतबाट नेपाल फर्किएको स्थानीय बासिन्दाले बताएका छन्।बिबिसीको सहयोगमा