मुख्यमन्त्री गुरुङ भन्नुहुन्छ “गण्डकी प्रदेशमा लकडाउन खुकुलो बनाउनुपर्छ”
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा लकडाउन खुकुलो पार्दै लैजाने बताउनुभएको छ। बागलुङका दुबै जना कोरोना भाइरस संक्रिमित उपचार पश्चात निको भएर घर फर्किए पछि उहाँले गण्डकी प्रदेश अब ग्रिन जोनमा परेकोले यो कार्य गर्नुपर्ने विचार राख्नुभयो । उहाँले गण्डकी प्रदेशका नाकाहरुमा कडाइ गरेर गण्डकी प्रदेश भित्रका जिल्लाहरुमा उत्पादन र निर्माणका काम थाल्ने बताउनुभयो । साथै खाद्यान्न उत्पादन, कृषि र विकास निर्माणका योजनामा लकडाउन गर्न नहुने बताउनुभयो । उहाँले उपप्रधानमन्त्री एवं उच्चस्तरीय समितिका संयोजकलाई फोन गरेर लकडाउनलाई खुकुलो बनाउन सुझाव पनि दिनुभयो । विकास निर्माण र उद्योग धन्दाका मजदुरलाई सुरक्षित रुपमा राखेर काम अघि बढाउनुपर्ने उहाँको भनाई छ ।
गण्डकी प्रदेशमा करिब ५ हजार जनाको द्रूत परीक्षण । साढे ५ सयको पिसीआर टेष्ट भइसकेको छ । यही कामको निरन्तरता भए कोरोनाविरुद्ध जुध्नसक्ने हौसला प्राप्त भएको मुख्यमन्त्री गुरुङले सुनाउनुभयो। उहाँले गण्डकी प्रदेशका ११ वटै जिल्लामा अहिले कोरोना संक्रमण नभएकोले सीमानाका बन्द गर्दै आन्तरिकरुपमा लकडाउन विस्तारै खुकुलो बनाउनुपर्ने प्रस्ताव गर्नुभएको छ ।