विपन्न चेपाङ समुदायलाई खाद्यान्न तथा न्यानो कपडा वितरण
पाेखरा, माघ २७ गते । पोखरेली ख्रीष्टिय समुदायको सामाजिक पहलका रूपमा सामाजिक कार्य गर्ने उद्देश्यसहित स्थापित संस्था असल छिमेकी नेपालले मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका वडा नं. २ का ८५ र वडा नं. ५ का पनि ८५ गरी कुल १७० परिवारलाई खाद्यान्न सामाग्री तथा न्यानो कपडा वितरण गरेको छ ।
राहतका प्रत्येक घरपरिवारलाई लगभग ६,३४१ बरारको राहत सामाग्री वितरण गरिएको छ जसमा खाद्यान्नहरुमा चामल, दाल, नुन, तेल, साबुन, मन्जन, ब्रस लगायतका सामाग्री रहेको थियो भने कपडाहरुमा ठूलो ब्लाङकेट, सानो कम्मल, पछ्यौरा, उनीको टोपी बाँडिएको हो ।
उक्त ठाउँमा अति नै विपन्न परिवारले जंगलका कन्दमुल, गिठा भ्याकुर, तरुल, बनमह संकलन गर्ने, भिरमा खोरिया खनेर मकै र कोदो लगाउने, हिँउदको समयमा खोलामा बालुवा चाल्ने,माछा मार्ने जस्ता कार्य गर्दै जिविकोपार्जन गर्दैआएका छन ।
पूर्व पश्चिम राजमार्गबाट मनहरी भन्ने ठाउँबाट उत्तरतर्फ गएपछि डाँडाको पाखाहरूमा फिँजारिएर बसेको चेपाङ र तामाङ बस्ती रहेको छ । मुख्य राजमार्गबाट ती गाउँहरु एकदमै नजिक भएतापनि उनीहरु हरेक शिक्षा, स्वास्थ्य, खानेपानी, आदि लगायत हरेक प्रकारले पिछडिएका छन ।