ग्रेड केन्द्रित शिक्षा भन्दा जीवनोपयोगी शिक्षाको खाँचो छ-आमिर खान
म शिक्षाको क्षेत्रबाट होइन, म एउटा कलाकार हुँ, एउटा आर्टिस्ट, सिर्जनशिल मान्छे हुँ । मलाई भन्दा तपाईलाई शिक्षाको बारेमा धेरै थाह छ किनभने धेरै लामो समयदेखि तपाईहरु यो क्षेत्रमा हुनुहुन्छ । म पनि केहि वर्ष अघिदेखि शिक्षा सम्बन्धी केहि फिल्महरु (तारे जमिन पर, ३इडियट्स)मा काम गर्ने अवसरमा मैलै पनि धेरै खोज अनुसन्धान गर्ने अवसर पाएको छु । शिक्षा सम्बन्धी खोज गर्दा केहि गहिरा कुराहरु मेरो सामु आयो र यी कुराहरु म आज तपाईहरु माझ राख्न चाहन्छु । आज यहाँ विद्यार्थी, अभिभावक, शिक्षक साथै शिक्षाविदहरु पनि हुनुहुन्छ । मलाई थाह छैन म कति सहि कति गलत छु तर म मेरा विचारहरु तपाईहरुमाझ राख्न चाहन्छु । शिक्षा सँग सम्बन्धित कुराहरु खोज्ने क्रममा मैले पत्ता लगाएको पहिलो कुरा यो छ कि प्रत्येक बालबालिकाहरु विशेष छन । सबै बच्चाहरुमा तपाई र मेरो जस्तै केहि न केहि योग्यता हुन्छ साथै कमजोरी पनि हुुन्छ । हामी शिक्षासँग सम्बन्धित व्यक्तिहरुले, अभिभावक तथा अग्रजहरुले बालबालिकाहरुलाई मद्धत गर्नुपर्दछ, उसमा भएको क्षमता उसको हृदयले के चाहन्छ, उसलाई कुन कुराले खुसी दिन्छ, उसको कमजोरी के हो भन्ने कुरालाई बुझ्नुपर्छ र उसलाई अघि बढ्न सहायता गर्नुपर्दछ । प्राय शैक्षिक संस्थाहरुले भन्ने गर्दछन कि हाम्रा सबै बच्चाहरु पास हुन्छन, बोर्ड परिक्षामा ए ग्रेड ल्याउँछन वा ए प्लस ल्याउँछन । मलाई यो जान्नु छ कि हाम्रा कति बच्चाहरु खुसी छन ? किनभने खुसी हुनु अति नै जरुरी यो मेरो लागि अति नै महत्वपुर्ण छ । किनभने पढाई लेखाई त बच्चाहरुले सिकिहाल्छन, जब मलाई केहि कुरा सिक्नु छ भने मैले त्यो केहि न केहि गरेर सिकिहाल्छु । जब हाम्रो फिल्म ३ इडियट्स रिलिज हुन गईरहेको थियो हामीले धेरै स्क्रिनिङ वा टेस्ट गर्यौँ जसमा हामीले तपाईहरुजस्तै धेरै अडियन्सहरुलाई बोलाएर फिल्म देखायौँ र दर्शकहरुबाट प्रतिक्रिया लिन्छौँ । फिल्म देखाउने क्रममा हामीले मुम्बईको एक उद्योगका २५/३० जना कामदारहरुलाई देखायौँ र फिल्म देखाईसकेपछि त्यहाँ एकजना कामदार थिए जसले मलाई एउटा प्रश्न सोधे जो निकै गहकिलो थियो । उनले मलाई भने “सर फिल्मको अन्त्यमा बल्ल हामीलाई थाहा भयो कि तपाई रेन्चोडदास (रेन्चो) त हुनुहुन्नथ्यो, तपाईलाई सर्टिफिकेट पनि प्राप्त भएन ता पनि तपाई ठूलो वैज्ञानिक कसरी बन्नुभयो, त्यति धेरै जापानी मानिसहरु कसरी तपाईको पछि लागे ?” यो प्रश्न धेरै महत्वपुर्ण थियो । खास कुरा यसैभित्र लुकेको छ । जब म परिक्षाको लागि रटेर केहि लेख्छु र त्यसमा मलाई नम्बर मिल्छ र म पास हुन्छु त्यसपछि मेरो हातमा एउटा कागज आउँछ जसले मलाई म पढेलेखेको मान्छे हुँ भन्ने बताउँछ । तर वास्तवमा म जान्ने मान्छे हुँ कि होइन भन्ने कुरा उनीहरुलाई वास्तविक रुपमा थाह हुँदैन ।
जब तपाई ज्ञान अथवा विद्या चाहनुहुन्छ भने त्यो कागजको कुनै महत्व हुँदैन, मैले उसलाई जवाफमा दुईवटा प्रश्न सोधेँ र भने तपाई के भन्नुहुन्छ कि म राम्रो कलाकार हुँ कि हैन, उनले भने, हुनुहुन्छ सबैले तपाईलाई राम्रो कलाकार मान्दछन । मैले उसलाई भने मसँग पनि त्यस्तो केहि सर्टिफिकेट छैन जसले मलाई राम्रो कलाकार भनेर बताउँछ । वास्तवमै म सँग कुनै सर्टिफिकेट छैन जसले मलाई राम्रो कलाकार भनेर बताउँछ । फेरि मैले उसलाई अर्को प्रश्न सोधेँ कि तपाईको मालिकले तपाईलाई इज्जत गरी सबैभन्दा राम्रो कामदार भनेर भन्नुहुन्छ के तपाईसँग यसको केहि कागज, सर्टिफिकेट छ । उनले भने छैन । त्यसपछि मैले उनलाई भने कि तपाईको प्रश्नको उत्तर यहिँ छ ।
शिक्षा भनेको तपाईले जे सिक्नुभयो त्यो हो, यो कुनै प्रप्ताङ्क वा ग्रेडभन्दापनि उच्च छ । मेरो इच्छा यो छ कि शिक्षालाई हामीले यसरी विचार गरौँ कि हामी हाम्रो वच्चाहरुलाई वास्तविक रुपमा शिक्षा दिन सकौँ । हामीले शिक्षालाई खुसीसाथ दिन सकौँ । शिक्षामा केबल ज्ञान मात्र हुँदैन तर यसले भविष्यमा उनीहरुलाई इज्जतको जीवन जिउन, असल मानिस बन्न, आफ्नै खुट्टामा उभिन, अरुलाई मद्धत गर्न, अरुको मुहारमा खुसी ल्याउन, अरुको बारेमा सोच्न सकुन । शिक्षाले बालबालिकाहरुमा यी कुराहरु बिकास गर्न सक्नुपर्दछ, यो मेरो भावना हो । मैले जहाँपनि यो कुरा देखेको छु, मेरो जीवनमा पनि यी घटनाहरु घटेका छन कि जब एउटा सानो बच्चा स्कुलबाट घर आउँछ हामी प्राय सोध्छौँ कि कति नंम्बर ल्याइस वा प्रथम भयौ कि द्वितीय, जब बच्चाले म सेकन्ड भएँ भन्छ हामी भन्छौँ किन फस्ट भएनौँ । यदि कसैले म पास मात्र अथवा दसौँ स्थानमा आएँ भन्छ भने त उसको हालत झन खराब हुन्छ । बच्चाले सोच्छ यो फस्ट हुन त धेरै नै जरुरी रहेछ । सानैदेखि बच्चाहरु जब खेलकुदमा भाग लिन्छन अभिभावकहरु त्यसमा पनि फस्ट नै आउनु जरुरी छ भनेर आफ्नो बच्चाहरुलाई बताउँछन । जसले गर्दा उनीहरुको दिमागमा प्रतिष्पर्धाको भावना जागृत हुन्छ, उनीहरु सबैभन्दा अब्बल हुनुपर्दछ भनेर सोच्दछन, अरुलाई पछाडी पारेर आफु अघि बढ्नुुपर्छ भन्ने कुरा बिकास गर्दछन, साथै धेरैजसो शिक्षकहरु पनि यी कुुराहरुमा नै लागिपर्दछन । फलस्वरुप जब उ २१/२२ वर्षको हुन्छ तब उ आफ्नै मात्र सोच्ने खालको बन्न पुग्दछ, उसले अरुको विषयमा सोच्दैन । यहि कुरा हामीले बच्चालाई सानैदेखि अरुलाई बिर्सेर आफु अगाडी आउनुुपर्दछ भनि सिकाइरहेका छौँ । जब उ जवान हुुन्छ उसले समाजलाई हेर्ने दृष्टिकोण फरक हुुन जान्छ । उसले आफु जसरी पनि सफल हुनुपर्दछ अरुको केहि मतलब छैन भन्ने भावना लिन्छ । मेरो आफ्नो विचारमा मेरो हृदयले भन्दछ कि यदि हामी आज आफ्नो बच्चालाई स्कुलबाट घर फर्केपछि छोरा/छोरी आज तिमीले कसलाई सहयोग गर्यौ ? वा आज कति जनालाई खुसी बनायौ ? यदि हामी बच्चाहरुलाई यी कुराहरु सोध्छौँ भने उसको मनमा यो पस्छ कि ग्रेड वा माक्र्स भन्दा त अरुलाई खुसी पार्ने, सहयोग गर्ने कुरा महत्वपुर्ण रहेछ । मनोवैज्ञानिक रुपमा वच्चा यसरी नै विकसित भई अगाडी बढ्छ, त्यहि स्कुल जान्छ, त्यहि कुरा पढ्छ, अरु जसरी नै अगाडी बढ्छ तर उसको सोच्ने शैली फरक हुन्छ जब ति बच्चाहरु जवान हुन्छन तब हाम्रो समाज परिवर्तन हुन्छ । तब हाम्रो समाजमा यस्ता जवानहरु हुनेछन जसले आफ्नो निम्ति होइन तर अरुको निम्ति सोच्ने व्यक्तिहरु हुनेछन । मलाई लाग्छ कि सबैभन्दा ठूलो कुरा हाम्रो शिक्षा प्रणालीमा यी कुराहरुलाई महत्व दिन थालियो भने हाम्रो देश अझै सुधारतर्फ अगाडी बढ्छ, विकासतर्फ अगाडी बढ्छ । स्रोतः युट्युब, अमिर खानले शिक्षा सम्बन्धि दिएको अभिव्यक्तिमा आधारित