बाइबलमा कविताको स्थान

बिबिध लेख / रचना साहित्य

बाइबल पुस्तकहरुको एउटा वृहत संग्रह हो । जसमा साना ठूला गरी जम्मा ६६ वटा पुस्तकहरु अटाएका छन । आम मानिसहरुले बाइबललाई एक साधारण धर्मशाष्त्रको रुपमा मात्रै बुझ्दै आइरहेता पनि यस भित्र साहित्य, इतिहास, राजनिती, भुगोल, संस्कृति, कानुन, विज्ञान जस्ता यावत विषयहरुले पनि महत्वपूर्ण स्थान ओगटेको पाईन्छ तथापी बाइबल भित्र सबैभन्दा बढी साहित्यको एक प्राचिन तथा सम्वृद्ध विधा काव्यले प्रचुर स्थान लिएको सत्यतालाई कसैले नकार्न सकिन्न । बाइबलभित्र संग्रहित जम्मा जम्मी ६६ वटा पुस्तकहरु मध्य ६ वटा पुस्तकहरु पूर्ण काव्यात्मक पुस्तक रहेका छन । अय्युव देखि श्रेष्ठगीत सम्मका ५ काव्यात्मक पुस्तकहरुले क्रमवद्ध रुपमा बाइबलमा आफ्नो स्थान सुरक्षित राखेको देखिन्छ भने, यर्मियाद्वारा लिखित विलापको पुस्तक भने अगमवक्ताको पुस्तकहरुको सूचिमा पंक्तीवद्ध भएको पाइन्छ । यद्यपी विलापको पुस्तक पनि पूर्ण कविताको पुस्तकको रुपमा लिइन्छ ।
वर्तमान समयमा मण्डलीहरुले कविताप्रति वितृष्णा जनाइ रहेको यो अवस्थामा बाइबल भित्र यति धेरै कविताहरुले स्थान पाउनु र नयाँ करार अनि पूरानो करारका अधिकांश पुस्तकहरुमा लेखकहरुले कविताका हरफहरु आशिंक रुपमा प्रयोगमा ल्याउनुले पनि यसको महत्वलाई झनै उचाइमा पुर्याएको सत्यतालाई वलियोसाथ स्वीकार गर्न सकिन्छ । जीवन र जगतको यावत पक्षहरुलाई लयमा गाँसेर कलात्मक ढंगले प्रस्तुत गर्ने रसपूर्ण साहित्यिक रचना नै कविता हो । कविता अन्य साहित्यिक विधाहरुमध्ये महत्वपूर्ण हुनुमा यसको एकै हरफले पनि विषय वस्तुको गम्भिरतालाई सहजै प्रस्टाउन सक्नु हो । त्यसैले बाइबलका ठूला अगमवाणी तथा इतिहासका पुस्तकहरुले जति परमेश्वरको वखान गाउन सक्षम देखिन्छन् ती भन्दा बढी दाउदको कविताको एकै पंक्ति बढी सबल देखिन्छ । पूर्विय र पाश्चात्य दुवै जगतमा विद्वानहरुको भनाइ अनुसार कविताको इतिहास निकै पुरानो मानिन्छ । तर बाइबलिय आधार मानेर कविताको अध्ययन गर्ने हो भने इ.पू. १५०० सम्म पुग्न सकिन्छ । जसको मजबुत आधार हो भजनसंग्रह ९० को मोशाको कविता । यस अर्थमा आजभन्दा ३५०० वर्ष पहिले नै एक महान विद्वान तथा अगुवा मोशाद्वारा कविता लेख्ने क्रमको शुत्रपात भएको मान्न सकिन्छ । केहि बाइबल विदहरुको विचारअनुसार अय्यूवलाई अब्राहमको समकालिन मानेको देखिन्छ । यदि अय्यूव विश्वासको पिता अब्राहमको समकालिन थिए भने कविता लेखन प्रकृया इ.पू २००० वर्ष पहिले अर्थात आजभन्दा ४००० वर्ष पहिले नै थालनी भई सकेको भनेर भन्न सकिन्छ । तर अय्युवको जिवनी र उनको पृष्ठभूमिवारे खोजकर्ताहरुको वीचमा मत एकता देखिदैन कारण अय्यूवको व्यक्तिगत इतिहासबारे हालसम्म कुनै ठोस प्रमाणहरु भेटिएको देखिदैँन । कविताको विकासक्रमलाई बाइबलिय दृष्टिकोणले नियाल्दा इ.पू १००० मा आई पुग्दा यसले निकै फड्को मारेको देखिन्छ । जसको ज्वलन्त उदाहरण तत्कालिन समयका प्रभावशाली कवि दाउदका कविताहरु हुन । दाउदको समकालिन मानिने आसाप, एतान, हेमान, कोरहवंशीको अर्थपूर्ण कविताहरुले भजनसंग्रहको पुस्तकमा हिस्सा ओगट्नुले नयाँ कविहरुको उदय भएको र कविताले नविनतम् मोड लिएको कुरामा कत्ति शंका देखिदैन । यसरी नै ज्ञानी र वुद्धिमान राजा सोलोमनको समयमा आईपुग्दा काव्यले आफ्नो विकासक्रममा झनै प्रगतिपूर्ण गति लिएको बुझिन्छ ।

दाउद, आशाप लगायतका कविहरुको रचनामा वढी भक्तिरस झल्किनुका साथै जीवन भोगाइको क्रममा देखा परेका यावत् जटिलताहरु र ती जटिलताहरुको निराकरणको निम्ति परमेश्वरसँग गरिएको पुकाराहरुको प्रतिउत्तर स्वरुप परमेश्वरको कृपापूर्ण हस्तक्षेप जस्ता विषयवस्तुहरुले व्यापक स्थान लिएको पाईन्छ । तर सोलोमनको कविताको प्रकृति हेर्दा जीवनको व्यवहारिक पक्षमाथी बढी जोड दिएको आभास मिल्छ । प्रेम, मिलन, अनि यसबाट प्राप्त हुने रमाहट, जीवनको व्यर्थता, फेरी दिनानु दिनको जीवन मापनको क्रममा आवश्यक नैतिक र व्यवहारिक अर्ति उपदेशमूलक विषयहरुलाई आधार बनाएर सोलोमनको कविता उभिएको देखिन्छ । नयाँ करारको लुकाको पुस्तकमा समेटिएको मरियमको स्तूतिगान, सिमियोनको स्तूति गान जकरियाको स्तूतिगान अनि स्वर्गदूतहरुको स्तूतिगान तथा प्रेरितको पुस्तक र हिब्रुको पुस्तकमा उदघृत गरिएका भजन संग्रहका पुस्तकबाट लिएका कविताका टुक्राहरु अनि इ.सं. पहिलो शताब्दीका एक प्रखर आचार्य पावलले पनि आफ्ना अधिकांश पत्रहरुमा कविता प्रयोग गर्नु र प्रकाशको पुस्तकमा समेत कविताजस्तै देखिने थुप्रै स्तूितगानहरु भेटिनुले कविताले बाइबलिय यूगभरी नै आफ्नो वर्चश्व कायम राखेको प्रष्ट हुन्छ ।
एउटा विर्सिनै नहुने कुरा के देखिन्छ भने यदि हामी जिउँदो परमेश्वरको स्तूति, प्रसंसा, महिमा, आदर, सम्मान, कृतज्ञता तथा धन्यवाद ज्ञापन उच्चतम ढंगले गर्नु छ भने त्यो सुन्दर र आर्कषक कला भजनसंग्रहको पुस्तकमा समावेश गरिएको कविताहरुमा बाहेक बाइबलको अरु कुनै पुस्तकमा कहिल्यै र कुनै पनि ठाँउमा पाउन सकिदैँन ।

लेखकः विष्णु गुरुङ “प्रशान्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *