नेपालमा संक्रमित संख्या ७५, सात वर्षको बच्चामा पनि कोरोना भेटियो
पोखरा । बाँकेमा थप छ जनामा कोरोना संक्रमण भएको पुष्टि भएसँगै कुल देशभर संक्रमितको संख्या ७५ जना पुगेको छ ।यो तथ्यांक सहित बाँकेमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । संक्रमितमा नेपालगञ्ज ८ निवासी १६, २१ र ३४ वर्षका पुरुष छन भने तीन जाना ४०, ५५ र ६० वर्षका महिला रहको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालगञ्जका ९ र पर्साका एक जनामा कोरोना पुष्टि भएकोमा अहिले नेपालगञ्जका थप ६ जनामा पनि कोरोना पोजेटिभ देखिएको हो । मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार नेपालगञ्ज ८ का १६, २१ र ३४ वर्षका पुरुष तथा ४०, ५५ र ६० वर्षका महिलामा कोरोना पुष्टि भएको हो ।
कोरोना पुष्टि भएका नेपालगञ्जका ९ जनामध्ये एक जना सात वर्षको बच्चा पनि रहेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । उनी बालक वा बालिका भन्नेबारेमा भने केही पनि खुलेको छैन । उनी नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमण पुष्टि भएका सबैभन्दा सानो उमेरका व्यक्ति हुन् । डाक्टर देवकोटाका अनुसार अहिले विराटनगरमा ३१ जना, वीरगञ्जका आज भेटिएका एक जना नयाँ बिरामीसहित ९ जना तथा रुपन्देही, भरतपुर, नेपालगञ्ज र धनगढीमा एकरएक जना गरी ४४ जनाको उपचार भइरहेको छ ।
१६ जना भने उपचारपछि निको भएका छन् । मन्त्रालयका अनुसार आजसम्म १३ हजार चार सय १४ जनाको पीसीआर र ४९ हजार ६ सय ८८ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण भएको छ । अहिले देशभरिका क्वरेण्टीनमा २१ हजार ९ सय ५१ जना रहेको पनि उहाँले जानकारी दिनुभयो ।