नारुहितो बने जापानका नयाँ सम्राट
बिबिसी । बुधवार विधिपूर्वक राज्यारोहण गर्दै नारुहितो जापानका नयाँ सम्राट छन् । राज्यारोहणको औपचारिक र परम्परागत विधि सम्पन्न भएपछि पहिलो पटक भाषण गर्दै उनले विश्वको जनताको सुख, देशको प्रगति र विश्वशान्तिको कामना गरेका छन् । उनका बुवा आकिहितोले राजगद्दी परित्याग गरेको दिनको मध्यरातपछि जापानी राजसंस्थाका उत्तराधिकारी नारुहितो औपचारिक रूपमा सम्राट बनेका हुन् ।
नारुहितो नयाँ सम्राट बनेपछि “रेवा” नाम दिइएको “नयाँ युग” आरम्भ भएको छ । जापानी भाषामा रेवाको अर्थ सुव्यवस्था र सामन्जस्य हो । जापानमा सम्राट फेरिएपछि नयाँ युग सुरु गर्ने प्रचलन छ ।
जापानमा रेवा युगको आरम्भ
छोटो मन्तव्यमा ५९ वर्षीय नारुहितोले भावुक हुँदै आफ्ना बुवा आकिहितोप्रति कृतज्ञता व्यक्त गरे । आकिहितोले देशका सेवा गरेको उल्लेख गर्दै सम्राट नारुहितोले भने, “उहाँले आफ्नो कर्तव्य गम्भीरतापूर्वक ३० वर्षदेखि निर्वाह गर्नुभयो ।” “उहाँले आफ्नो आचारबाटै ठूलो दयाभाव देखाउनुभयो । म उहाँप्रति हार्दिक सम्मान र प्रशंसा प्रकट गर्न चाहन्छु ।” जापानमा सम्राटसँग कुनै राजनीतिक अधिकार हुँदैन । तर उनी राष्ट्रिय प्रतीकका रूपमा चिनिन्छन् ।
उमेर र स्वास्थ्यका कारण देखाउँदै ८५ वर्षीय आकिहितोले पदत्याग गरेका थिए । दुई सय वर्षपछि पहिलो पटक जापान सम्राटले स्वेच्छाले पदत्याग गरेका हुन् ।
समारोह कस्तो रह्यो ?
शाही निसान र छाप हस्तान्तरण गर्ने विशेष समारोह स्थानीय समयानुसार बिहान १०ः १५ बजे सुरु भएको थियो । सामान्य तर गहन साङ्केतिक अर्थ राख्ने सो समारोहमा नारुहितोलाई एउटा तरबार, एउटा बहुमूल्य जुहारात तथा ऐना दिइएको थियो । सम्राट नारुहितोलाई उनका पूर्वजको नासो हस्तान्तरण गरिएको थियो ।
केन्जी–टो–शोके–नो–गी भनिने सो समारोहमा राजपरिवारका पुरुष सदस्य मात्रै उपस्थिति थिए । त्यसमा महिला सहभागी हुने चलन नभएकाले नयाँ साम्राज्ञी मासाको उपस्थित भइनन् । उनन्साठी वर्षीय नारुहितोलाई एउटा तरबारको प्रति र एउटा बहुमूल्य रत्न दिइएको थियो । ती वस्तुलाई जापानी साम्राज्यको शक्तिको प्रतीक मानिन्छ र जापानको राजपरिवारमा पुस्तौँदेखि त्यसरी नै नयाँ सम्राटलाई दिइँदै आएको छ ।
उनलाई हस्तान्तरण गरिएको शाही खजानामा एउटा ऐना पनि छ । त्यसलाई सबैभन्दा महत्वपूर्ण मानिन्छ र सधैँ एउटा मन्दिरमा राख्ने गरिएको छ ।
को हुन नारुहितो ?
नारुहितो जापानका १२६ औँ सम्राट हुन् । उनले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका छन् । उनी २८ वर्षको उमेरमा राजसंस्थाको उत्तराधिकारी घोषित भएका थिए । नारुहितो र मासाकोको विवाह सन् १९९३ मासाकोसँग भएको थियो । उनीहरूको भेट सन् १९८६ मा भएको बताइन्छ ।
मासाकोले पछि सञ्चारकर्मीहरूलाई युवराज नारुहितोले आफूसँग विवाह गर्न प्रस्ताव गरेको बताएकी थिइन् । उनका अनुसार नारुहितोले उनलाई “तिमीलाई राजपरिवारमा आउन डर र सङ्कोच लागेको हुन सक्छ । तर म आजीवन तिम्रो रक्षा गर्नेछु “भनेकाले उनले त्यो प्रस्ताव स्वीकारेकी थिइन् ।
जापानमा राजसंस्था किन महत्वपूर्ण ?
जापानको राजसंस्था अहिले विश्वमा अस्तित्वमा रहेकामध्ये सबैभन्दा पुरानो हो । यो इसापूर्व ६०० देखि सुरु भएको मान्यता छ । जापानमा सम्राटलाई ईश्वर मानिन्थ्यो । तर नारुहितोका हजुरबुवा सम्राट हिरोहितोले दोस्रो विश्वयुद्धको अन्त्यतिर जापानले आत्मसमर्पण गर्दा सार्वजनिक रूपमा दैवी शक्ति परित्याग गरेको घोषणा गरेका थिए । हिरोहितोका छोरा आकिहितोले सम्राटको भूमिकाको पुनर्व्याख्या गरेर युद्धपछि जापानको छवि सुधारे । राजगद्दी त्यागेका आकिहितोलाई जापानी भाषामा “जोको” भनेर सम्बोधन गरिनेछ । जोकोको अर्थ “बडासम्राट” हो । अङ्ग्रेजीमा उनलाई “एम्परर इमेरिटस अर्थात् “मानार्थ सम्राट” र मिचिकोलाई “एम्प्रस इमेरिटा” अर्थात् “मानार्थ सम्राज्ञी” भनिनेछ ।