चर्चहरु परनिर्भरताबाट बाहिर निस्केर आत्मनिर्भर बन्नु जरुरी छ
हजुरलाई जयमसिही । आरामै हुनुहुन्छ ?
जयमसिही हजुरलाई पनि, आरामै छु म ।
हजुरले प्रभुलाई कहिले र कसरी पाउनुभयो ?
मैले प्रभुलाई पाउनुमा एउटा घटना छ । मेरो माईलो छोरा थोमस साँढे ३ वर्षसम्म प्यारालाईसिस भएर बिरामी भई थला पर्यो, धेरै समय निकै भएन त्यसपछि मैले सम्पुर्ण ठाँउमा औषधी उपचारदेखी लिएर लामा, झाँक्री, धामी बोलाई सक्दो कोसिस गरे तर कुनै हालतमा पनि छोरा निको भएन । म कम्युनिष्ट विचारको मान्छे थिएँ, उनीहरुले इश्वर छैन भन्थे, मेरो पनि इश्वरप्रति आस्था हराएर गएको थियो । तर एकदिन एकजना आठ कक्षामा पढ्ने नानीले मलाई सुसमाचार सुनाउनुभयो चर्चमा लैजानुहोस न निको हुन्छ भनेपछि अब यो कोसिस पनि गर्नुपर्यो भनेर म चर्च खोज्दै पोखरा पुगे । पोखरामा बागबजार चर्च फेलापारी मेरो भेट पाष्टर हरिबहादुर दाई सँग भयो । उहाँलाई भेटेर मैले यहाँ बिरामीहरु निको हुन्छन रे भन्दा मलाई शनिबार आउनुहोस भनेर भन्नुभयो । म चर्च जान शुरु गरे, उसको लागि प्रार्थना गरियो, चर्च गएको पाँचौ हप्ताको आइतबार प्रभुले मेरो छोरालाई चंगाई दिनुभयो । मेरो छोरा हिड्न लाग्यो । उ हिडेपछि वरिपरिका साथै अफिसका सबै मान्छेहरु हेर्न आए । त्यहि दिनदेखी मैले सम्पुर्ण मुर्तिहरुलाई त्यागेर प्रभुको पछि हिड्ने निणर्य गरे ।
हजुरलाई प्रभुको काम गर्ने प्रेरणा कसरी मिल्यो ?
जब मेरो छोरालाई प्रभुले निको पार्नुभयो त्यसपछि हामी केहि व्यक्तिहरु मिलेर दुलेगौँडामा संगति गर्न थाल्यौ, त्यस ठाँउमा प्रशासनबाट धेरै सतावट आउन थाल्यो, धम्कीहरु आउन थाल्यो । त्यसपछि मेरो हाकिमले मलाई आफ्नो विश्वास त्यागे वापत प्रशासनबाट जोगाउने कुरा गर्नु भयो तर मैले छोरा निको भए पछि अब म कृषिको डायरी होईन बाइबल समातेर गाउँ गाउँ जानुपर्छ मेरा छोराहरु जस्ता धेरै रोगीहरु र असाह्यहरु छन भनेर मैले जागिरलाई छोडी प्रभुको कामलाई रोजे ।
बाबा, हजुर अहिले हाल्लेलूयाह चर्चमा हुनुहुन्छ, अहिले यो चर्च स्थापना भएको पनि लगभग २५ वर्ष पुग्यो, आत्मिकी तथा आर्थिक रुपमा चर्च निकै बलियो भएको हामी पाउँछौ, कहिले र कसरी यो चर्च स्थापना भयो अलिकति बताईदिनुहुन्छ कि हामीलाई ?
जब मैले जागिर छोडे त्यसपछि मैले क्याम्पस क्रुसेडमा तालिम लिएँ, साँढे २ वर्षजति ट्रेनंंर भएर पनि काम गरे पछि मेरो पाष्टर गुरुबाले मलाई तिमीले यसरी तालिममा होइन तर प्रभुको काम गर्नुपर्छ भनेर उत्साह दिनुभयो र म यता मेरो आफ्नो खेत थियो त्यहाँ बिहान बेलुका काम गर्दै दिउँसो सुसमाचार प्रचार गर्दै हिड्थे र फलस्वरुप मेरो आफ्नै परिवारबाट यो चर्च बि.सं. २०४८ साल असोज २६ गते सुरु भयो ।
हाल तपाई लगभग ६० को दशकमा हुनुहुन्छ, धेरै अनुभव गर्नुभएको छ, धेरै कुरा भोग्नुभएको छ । अहिले ख्रीष्टियानहरुका लागि वातावरण निकै सहज पनि छ अनि तपाईको अध्ययनमा पहिलेको र अहिलेको विश्वासमा के फरक भेट्टाउनुहुन्छ ?
पहिले विश्वासी थोरै थिए, एक अर्काको निकै माया थियो, सबै सर्मपित थिए, बलिदान हुन तयार हुन्थे, संगतिको लागि मरिहत्ते गर्थे, राती मकै बारीमा लालटीन बालेर समेत संगति गर्थे, प्रगाढ प्रेम थियो एकआपसमा । तर त्यो जोश र प्रेममा अहिले कमि आएको छ । सेलाउँदै गएका छन मानिसहरु ।
भनेपछि अहिले संख्या मात्रै धेरै छ तर प्रेम सेलाउँदै गएको छ भनेर भन्न खोज्नुभएको हो हजुरले ?
हो अहिले नेपालमा चर्चहरु बढेका छन, बिश्वासी बढेका छैनन कारण एकताको कमि आएको छ । आत्मियताको कमि भएको छ, इसाईहरुको लगभग ६० वर्षभन्दा बढीको इतिहासमा हुनुपर्ने सेवकाईमा उपलब्धी भएको छैन ।
हजुरले भन्नुभयो चर्चहरु बढेका छन बिश्वासी छैनन, एकताको कमि हुँदैछ, उपलब्धी छैन, आखिर यो समस्या कहाँबाट आयो र यसको समाधान के छ ?
यो समस्या कहाँबाट आयो भन्दा, मानिसहरु अहिले सेवकाईमा बोलावट र दर्शन अनुसार नलागेर हो । अहिले जसले पनि म सँग शैक्षिक योग्यता छ, म पनि गर्न सक्छु भनेर परमेश्वरको अगुवाई र दर्शनभन्दा पनि आफ्नो बुद्धिले चर्च सुरु गरेका छन, समस्या आएपछि भाग्छन जसले गर्दा मण्डली आत्मिक रुपमा र एकतामा अगाडि बढ्न सकेका छैनन । चर्चको संख्या मात्रै वृद्धि छ तर बिश्वासी छैनन ।
वर्तमान अवस्थामा नेपाल देश मात्रै होइन तर हाम्रा चर्चहरु पनि आर्थिक रुपमा निकै विपन्न छन किन होला? र हामी इसाईहरुको यो समस्या हटाउन के भुमिका रहन्छ ?
हो नेपाल देश तथा चर्चहरुले अहिले आर्थिक कठिनाई बेहोरिरहेको छ, यो सबै परनिर्भरता र इमान्दारिता नभएर हो । यो समस्यालाई समाधान गर्न सर्बप्रथम हामी सबै ईसाईहरु एक हुनुपर्छ र आफ्नो बोलावट अनुसार इमान्दार भई काम गर्नुपर्छ, आर्थिक कुरामा सबै इमान्दार भई दिन सिक्नुपर्छ र हामी बलियो हुन्छौ । यदि हामी बलियो भयौँ भने चर्च बलियो हुन्छ, चर्च बलियो भयो भने हामीले समाजलाई योगदान दिन सक्छौँ । इमान्दारिता र आत्मनिर्भरता सिकाउने ठाँउ चर्च हुनुपर्छ । यो देशलाई आज ईसाईहरुको अति खाँचो छ । हामीहरुले नै बलियो भएर प्रार्थना गरेर एकतामा अगाडी बढेनौँ भने यो देश झन दुर्गतिमा जान बेर लाग्दैन ।
पाष्टर बुवा, हजुरका धेरै विचारहरु मध्य यो आत्मनिर्भरता सम्बन्धी विचार धेरै मनपर्छ मलाई, हजुरले यो विचारलाई आफ्नो मण्डलीमा कसरी कार्यान्वयन गर्नुभएको छ, अझै प्रभावकारी रुपमा आर्थिक रुपमा चर्चहरु आत्मनिर्भर हुन के गर्नुपर्ला जस्तो लाग्छ हजुरलाई ?
अहिले धेरैजसो ख्रीष्टियान चर्चहरु, पाष्टरहरु आत्मनिर्भर हुनुभन्दा, प्रभुमा आशा गर्नुभन्दा पनि बिदेशीहरुमा धेरै भर परेको देखिन्छ । हामीले हरेक ठाँउमा त्यसो गर्नुभन्दा पनि विश्वासीहरुलाई उद्योग धन्दा गर्न, व्यापार व्यवसाय, काम काज गर्न उत्साह दिई सिकाउनुपर्छ, काम गर्नेले काममा इमान्दार भई प्रभुको लागि आर्थिक कुरा छुट्याउनुपर्छ भने सेवकाई गर्ने प्रभुको काममा, सिकाउने क्षेत्रमा लाग्नुपर्छ । अहिले नेपाली ईसाईहरु दशांस भेटी दिनमा निकै कमजोर छन, दिनै सक्दैनौँ भन्छन । तर जबसम्म मानिसहरुले बाइबल अनुसार दिनुपर्छ भन्ने शिक्षालाई मण्डलीमा दह्रोसँग पक्रदैँनन तबसम्म चर्चहरु र बिश्वासी आत्मनिर्भर बन्न गाह्रो छ ।
अनि हजुरले अगुवाई गरिरहनुभएको चर्च आर्थिक रुपमा सम्पन्न छ, यहाँले आफ्नो चर्चमा आर्थिक व्यवस्थापन कसरी गर्नुभएको छ ?
यो चर्चको आर्थिक कुरा गर्दा प्रमुख आयस्रोत त दशांस भेटी नै हो, त्यसपछि हाम्रो चर्चमा हामीले ठुलो कार्यहरु गर्दा बिशेष भेटीहरु उठाउने गर्दछौँ, साथै हरेक आईतबार उपबास प्रार्थना बस्छौँ र त्यो छाक बराबरको पैसा चर्चमा भेटी ल्याउँछौँ अनि हामीले उक्त रकमलाई असाह्यलाई सहयोग गर्न, जेहन्दार बिद्यार्थीलाई छात्रवृत्ति दिन प्रयोग गर्छो । त्यस्तै सम्पुर्ण दिदि बहिनी संगति, बाल संगति र जवान तथा सबै संगतिको आफ्नै कोष छ । त्यसका साथै हामीले चर्चमा व्यवसाय तथा व्यापार गर्ने मानिसहरुलाई सल्लाह सुझाव पनि दिने गर्छो र दशांस भेटीको शिक्षामा पनि बलियो बनाउछौँ । जसले गर्दा यो चर्च आत्मनिर्भर छ ।
पाष्टर बुवा, अहिले हजुरको सेवकाईको मुख्य चिन्तन कतातिर छ ? कुन क्षेत्रलाई बढी प्राथमिकताको साथमा हेर्नुभएको छ ।
अहिलेको मेरो चिन्तन तथा सेवकाई भनेको प्रत्येक विश्वासीले मुक्तिको निश्चयता प्राप्त गरोस, प्रत्येक अभिभावकहरु परिपक्व होउन भन्ने छ । साथै हामीले दोस्रो पुस्तालाई वचनमा बचाउन सकौँ भन्ने हो । हाम्रो अहिलेको पहिलो प्राथमिकता भनेको दोस्रो पुस्तालाई अर्थात बालबालिकालाई कसरी बचाउने भन्ने हो । कसरी उनीहरुलाई वचनमा परिपक्व बनाउने भन्ने हो ।
दोस्रो पुस्तालाई बचाउन अभिभावक र चर्चले के भुमिका खेल्दछ पाष्टर बुवा ?
अब दोस्रो पुस्तालाई वचाउनको निम्ति अभिभावक र चर्चले ठुलो भुमिका खेल्दछ । पहिले बुवा आमाहरु एक हुनुपर्छ उनीहरु उदाहरण बन्नुपर्छ किनभने घर बालबालिकाहरुले सिक्ने मुख्य केन्द्र हो, त्यस्तै घर घरमा बिहान बेलुका बाइबल पढेर प्रार्थना गर्ने विधि नै बस्नुपर्छ अनि बालबच्चाहरुले सिक्छन । त्यस्तै चर्चहरुले पनि विभिन्न कार्यक्रमको आयोजना गरेर उनीहरुलाई उत्साह दिनुपर्छ साथै बाबुआमाले चर्चका कार्यक्रममा अनिवार्य आफ्ना बालबालिकालाई पठाउनुपर्छ ।
अन्त्यमा सम्पुर्ण पाठक वर्गहरुलाई सम्पुर्ण पाष्टर अगुवा र विश्वासीजनहरुलाई के सन्देश दिन चाहनुहुन्छ पाष्टर बुवा ?
अन्त्यमा सबैलाई मेरो यहि सन्देश छ कि हामी सबैले एक अर्काको फिक्रि गरौ, विषेश सन्देश पाष्टर अगुवालाई छ, पाष्टर अगुवा भनेको गोठालो हुन उनीहरु निस्वार्थी हुनुपर्छ, आफ्ना भेडालाई असल शिक्षामा अगाडी बढाउनुपर्छ र हामी सबै चाहे मण्डली होस व्यक्ति वा राष्ट्र होस सबै आत्मनिर्भर बन्नुपर्छ पर निर्भर बन्नुपर्छ । हामी बिश्वासीहरुले आफ्नो देशमा उदाहरण बनेर समाजमा नुन र ज्योति बन्नुपर्छ र राष्ट्रलाई समेत योगदान दिनुपर्छ । यही सन्देश म सबैलाई दिन चाहन्छु । धन्यवाद जयमसिही