सारंगीले मलाई युरोपको नर्वेसम्म पुर्यायो…। सारंगीको मिठो धुन र गीत, बच्चाहरुको बेजोड प्रस्तुति ||
दिलिप सर यहाँलाई स्वागत छ ।
धन्यवाद
गन्धर्व अनि सारंगीको सम्बन्ध कस्तो हो? अलिकति बताईदिनुहोस् न ।
गन्धर्व जाति सारंगी बिना बाच्न पनि सक्दैन, सारंगी गन्धर्व बिना बाँच्न पनि सक्दैन भने जस्तै छ, अनि विशेष गरेर पहिले परापुर्खाले सारंगी बजाएर आफ्नो जिविका चलाउँथे, आफ्नो कला गला देखाएर बाँच्नुहुन्थ्यो, त्यसै गरि सारंगी एक पुस्ता देखि अर्काे पुस्तामा हुँदै हाम्रो पुस्तामा यसरी आएको छ ।
अनि अहिलेको यो समयमा सारंगी बचाउनुपर्छ भन्ने अभियाननै किन चलाउनुपर्यो, कसले नबुझेको हो, कहाँ गल्ती भयो, सारंगी किन लोप हुंँदै छ?
धन्यवाद, यो प्रश्नको लागि एकदम खुसी लाग्यो । यो सारंगी हाम्रो पुर्खाहरुले बजाएर आफ्नो कला देखाएर कमाएर खानुहुन्थ्यो, तर पछिल्लो क्रममा के भयो भने अहिलेका युवाहरुमा मागेर खाने चिज हैन है, हाम्रो जातिले माग्दैन केहि काम गर्नुपर्छ भन्ने कुराहरु गरिसकेपछि यो कुराहरुमा चाहिँ सारंगी नबजाउ हाम्रो इज्जत घट्यो इज्जत गयो भनेर हाम्रो आजभोलिको साथीहरुले बजाउन छोड्नुभयो तर मलाई के लाग्छ भन्दा यो मागेर खाने भांडो हैन कि यो कला प्रदर्शन गर्नु हो, यो राष्ट्रको गहना हो, राष्ट्रिय बाजा हो है, राष्ट्रिय बाजा भएको कारण यसलाई बचाउनुपर्छ ।
यहाँले राष्ट्रिय बाजा बचाउनुपर्छ भन्नुभयो, यो सारंगी बचाउने अभिभारा गन्धर्वले मात्र लिनुपर्छ कि राष्ट्रको तर्फबाट पनि पहल गरिनुपछ, कस्तो लाग्छ हजुरलाई ? कस्तो पहल गरिराखेको छ सरकारले?
सरकारले अहिलेसम्म यहाँ हामीलाई त्यतिसारो सहयोग त गरेको छैन तर पनि हामी अहिले आफ्नै यी बाजाहरु जोगाउनुपर्छ, यसलाई लोप हुन दिनुहुदैन भनेर अहिले पाठशालाहरु खोलेका छौं, जब सम्म हाम्रो सारंगीको सम्राट हाम्रो झलकमान गन्धर्व, उहाँले लामो समयसम्म बचाईरहनुभएको थियो उहाँ संसारबाट बिदा भएपछि हामी यसको अभियानमा हिंडिरहेकाछौं, जब कि सारंगी बच्नुपर्छ, सारंगीलाई बचाउनुपर्छ, सारंगी लोप हुन दिनुहुँदैन भन्ने तरिकाले हामी साना साना बच्चाहरुबाट उत्पादन गरिरोका छौं, कतिपय यहि सारंगी बजाएर आ–आफ्नो पेट पालिराखेका छन् । अब ठाउँ ठाउँमा आफ्नो प्रतिभाहरु देखाएका छन्, अहिले लगभग हामीले सुरुवात गरेको आठ दश बर्ष भइसक्यो है यो आठ दश बर्षको अन्तरालमा कतिजना कलाकार भईसके, कति जना बल्ल सिक्दैछन् । अहिले हामीले फेरि चार पाँच बर्षसम्मको उमेरका बच्चाहरु द्वारा सारंगीको महत्व बुझाइरहेका छौँ ।
यहाँले सारंगी नै किन रोज्नुभयो? कहिलेबाट बजाउन सुरु गर्नुभयो?
व्यक्तिगत रुपमा भन्नुपर्दा मेरो बुबा कलाकार हुनुहुन्छ उहाँको गितहरु पनि चर्चामा आएको थियो,यो दाजुको मिर्मिरे आँखा लगायत अन्य । म पाँच बर्षको हँदा बाबाले सारंगी बजाएको देख्दा मलाई पनि सिक्ने इच्छा जाग्यो, मेरो प्रेरणा, गुरु भनेको मेरो बुवा हुनुहुन्छ । त्यसपछि मैले संगितमा रुचिको साथ अन्य बाजाहरु पनि सिकेँ ।
यहाँ एउटा संगितकार, संगीत प्रशिक्षक पनि हुनुहुन्छ, कुन कुन बाजा सिकाउनुहुन्छ?
मैले २०५७ साल देखि लगभग १० वर्ष विन्दवासिनीमा संगित प्रशिक्षण केन्द्र, पोखरामा सिकाएपछि मैले आफ्नै संगित सरगम म्युजिक ट्रेनिङ स्कुल पनि खोलेँ । त्यहाँ हामीले भोकल, मादल, सारंगी, गितार लगायत सबै सिकाउँथ्यौँ । तर पछिल्लो क्रममा यहि सारंगी वचाउनुपर्छ भन्ने उद्धेश्यले यो प्रतिष्ठान खोल्यौँ ।
अनि, यहाँ यो पोखरा बाटुलेचौर स्थित यो सारंगी प्रतिष्ठान छ, हजुरको बारेमा अलिकति हामीलाई बताइदिनस न, कसरी सिकाउनुहुन्छ, कति लिनुहुन्छ, कति भयो सुरु भएको, यसको बारेमा बताईदिनुस न ?
हामीले आधिकारिक रुपमा सुरु गरेको २०६५ सालमा हो तर हामीले तर सिकाउन सुरुवात गरेको चाहिं २०६४ सालबाट हो । ४ जना विद्यार्थीबाट सिकाउन सुरु गरेको हो अनि सुरुवातमा हामीलाई १० वोटा सारंगी हनोक मिया ज्युले दिनुभयो त्यसपछि हामिले निशुल्क सिकायौँ । सारंगी बचाउने अभियानमा गन्धर्व जातिले मात्र सिक्नुपर्छ भन्ने थिएन जो कोहिले पनि सिक्न सक्नुहुन्छ अझै पनि सिक्ने इच्छा भएको जतिले । ४ जना बिद्यार्थी बाट सुरु गरेर अहिले हामीले लगभग हामीसंग १५ सय बिद्यार्थीहरुले सिकिसक्नुभएको छ । त्यसमा कति सफल भए कति सफल नहुन पनि सक्छन् । हामीले अहिलेसम्म निशुल्क नै सिकाइराखेका छौं । बच्चाहरुलाई प्रोत्साहन होस् भनेर हामीले धेरै कार्यक्रम ग¥यौँ र हामीलाई धेरै ठाउँहरुबाट अफर पनि आयो, हाम्रो बच्चाहरुले राम्रो प्रस्तुति दिएका छन र मायाको चिनोहरु पनि पाएका छौं ।
भबिष्यमा कस्तो खालको दर्शन छ यो प्रतिष्ठानलाई लिएर ?
बिषेशत यो सारंगी बचाउ अभियानमा छौं पछि गएर यसको कार्यक्रम गर्ने, ठुला ठुला सारंगी बाधक तयार पार्ने र जन्माउने इच्छा छ ।
सारंगीबाट भविष्यमा नेपालमा र अन्तर्राष्ट्रिय स्तरमा कस्तो खालको स्कोप छ, यहाँ त नर्वे पनि पुगेर आउनुभयो सारंगी कै तर्फबाट अलिकति बताईदिनुहोस् न?
बजाउन जानियो भने यो स्वदेशमा मात्र नभएर झन विदेशमा पनि यसको धेरै महत्व छ । म आफ्नो प्रतिभा देखाउनको लागि नेपाल सरकारबाट ४५ जनाबाट छानिएर नर्वे गएको थिएँ, जहाँ ७७ वटा राष्ट्रहरुको भेला थियो । यसको महत्व विदेशमा धेरै छ । तर कतिपय अवस्थामा यहाँ आफ्नै मान्छेहरुले खिल्ली उडाएको देख्दा दुःख लागेर आउँछ । यो गन्दर्भको मात्र बाजा होइन तर सम्पुर्ण नेपालीको हो । यसलाई सबैले बुझेर बचाउनुपर्छ । कलाकारहरुले पनि यसलाई बुझ्नुपर्छ । सबैले यसको सम्मान गर्नुपर्छ ।