जापान एसिएन कप फुटबलको फाइनलमा
जापान एसिएन कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । इरानलाई ३–० ले हराउँदै जापान फाइनलमा पुगेको हो । जापानसँग पराजित भएपछि इरानका प्रशिक्षकले भने पदबाट राजीनामा दिएका छन् । यूएईमा जारी प्रतियोगिता अन्तर्गत सोमबार पहिलो सेमिफाइनल खेल भएको थियो । पहिलो हाफसम्म इरान र जापानले गोलरहित बराबरी खेले । तर इरानले रोक्न नसक्दा जापानले तीन वटै गोल दोस्रो हाफमा गर्न सफल भयो । जापानका लागि दुई गोल ओशाकाले गरे भने एक गोल हरगुचले गरे । ५६ औं मिनेटमा योया ओशाकाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । ६७ औं मिनेटमा पाएको पेनाल्टीलाई पनि ओशाकाले नै गोलमा परिणत गरे । ९१ औं मिनेटमा जेन्की हरगुचले अर्को एक गोल थपेपछि जापान ३–० को नतिजासहित फाइनलमा पुग्यो । जापानले अब उपाधिका लागि कतार र यूएईको विजेतासँग प्रतिस्पर्धा गर्ने छ । यसैबीच जापानसँग पराजित भएपछि इरानका प्रशिक्षक कार्लोस क्वीरोजले राजीनामा दिएका छन् । उनले आठ वर्षसम्म इरानको टिम सम्हालेका थिए । उनी रियल मड्रिडका पूर्वप्रशिक्षकसमेत हुन् । उनले युएईमा सन् १९७६ पछि पनि इरानलाई पहिलो उपाधि दिलाउन चाहान्थे तर जापानसँग दोस्रो हाफमा इरानले ३ गोल खाएर पराजित भयो । एजेन्सी ।