बार्सिलोना ला लिगाको शीर्षस्थानमा
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार भिल्लारियललाई पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । सेभिल्ला र अलाभेसको खेल बराबरीमा टुंगिएपछि बार्सिलोनाले सेभिल्लालाई उछिनेको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोना २–० ले विजयी रहयो । भिल्लारियलले खेलको सुरुवाती समयमा अग्रता लिने मौका चुकायो । जेरार्ड मोरेनोले क्लेमेन्ट लेङलेटलाई रोकेर हानेको सट पोस्टमा लगेर फर्कंदा बार्सिलोना भाग्यमानी सावित भएको थियो । बार्सिलोनाले ३६ औं मिनेटमा जेरार्ड पिकेको गोलमा अग्रता लियो । ओस्मान डेम्बेलेको क्रसमा उनले हेडरमार्फत गोल गरेका थिए । कार्लोस एलेनाले ८७ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । कप्तान लिओनेल मेसीको थ्रु बलमा गोलरक्षकलाई चिप गर्दै एलेनाले गोल गरेका थिए । खेलको अन्तिम समयमा मेसीले पनि गोल गर्ने अवसर चुकाए । यस जितसँगै बार्सिलोनाले १४ खेल खेल्दै ८ जित, ४ बराबरी र २ हारसहित २८ अंक जोडेको छ । सेभिल्ला भने १४ खेलमा ८ जित ३ बराबर र ३ हारसँगै २७ अंकमा छ । पछिल्लो ५ खेलमा बार्सिलोनाको यो दोस्रो जित हो । यता भिलारियलले पछिल्ला ८ खेलमा एकपटक मात्र जित दर्ता गरेको छ ।
आइतबार भएको खेलमा सेभिल्लाले अलाभेससँग १–१ को बराबरी खेलेको थियो । अलाभेसका लागि जोनीले गोल गर्दै अग्रता दिलाएका थिए । तर विसाम बेन येडरले गोल फर्काउँदै खेल बराबरीमा ल्याए ।