रापिड टेष्टमा कास्की, बागलुङ र गोरखामा एक/एक जना कोरोना पोजेटिभ
पोखरा । गण्डकी प्रदेशमा मंगलबार रापिड टेष्टका क्रममा तीन जनामा कोरोना एन्टीबडी पोजेटिभ देखिएको छ । कास्की, बागलुङ र गोरखाका एक/एक जनामा रापिड टेष्टमा पोजेटिभ देखिए पछि उनीहरुको पिसिआर प्रविधिबाट परीक्षणका लागि स्वाब संकलन गरिएको छ । स्वाबको बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा परीक्षण हुने गण्डकी प्रदेश स्वास्थ्य निदेशनालयका सुचना अधिकारी डा बुद्धि प्रसाद पौडेलले जानकारी दिए । उनीहरु तीनै जनालाई सुरक्षित राखिएको छ । गण्डकी प्रदेशका १० जिल्लामा विदेशबाट आएकाहरुको रापिड टेष्ट भईरहेको छ । मंलबार सम्म २ हजार ४ सय १३ जनाको परीक्षण गरिएकोमा ४ सय १० जनामा नेगेटिभ देखिएको उनले बताए । संघीय सरकारले पठाएको ५ हजार किट मार्फत गण्डकी प्रदेशका जिल्लाहरुमा कोरोना परीक्षणको भइरहेको प्रदेश स्वास्थ्य निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए । चैतभित्र विदेशबाट आएका उनीहरुका नजिक रहेमा संक्रमण भए नभएको पत्ता लगाउन तिव्र परीक्षणको लागि किटको प्रयोग गरिएको हो । गण्डकीमा अहिलेसम्म देखिएका २ जना कोरोना संक्रमण देखिए पछि उपचार भइरहेको छ । उनीहरु दुबै बागलुङस्थित धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा छन् ।