मोबाइलमा ‘शेयर इट’ एप छ भने तुरुन्तै हटाउनुहोस्, ह्याकरले तपाईंको संवेदनशील डेटा चोर्दै छन्
एजेन्सी । विश्वव्यापी रुपमै लोकप्रिय एप शेयर इट’ मा सुरक्षा कमजोरी फेला परेको छ । साइबर सुरक्षा कम्पनी ट्रेन्ड माइक्रोले तीन महिनासम्म गरेको एक अध्ययनपछि यो एपको एन्ड्रोइड भर्सनमा गम्भीर खालका सुरक्षा कमजोरी भएको तथ्य बाहिरिएको हो ।
अध्ययन प्रतिवेदन अनुसार गलत प्रवृत्तिका ह्याकरले एपमा सजिलै पहुँच प्राप्त गरी प्रयोगकर्ताको डेटा चोर्न सक्नेछन् । ‘ह्याकरहरूले यो एपमा मालवेयर इन्फेक्टेड कोड प्रयोग गरेर डेटा हाइज्याक गर्न सक्दछन्,’ ट्रेन्ड माइक्रोका अनुसन्धानदाता एचो दुअनले भने ।
यो सुरक्षा कमजोरीबारे कम्पनीले गुगललाई जानकारी दिइसकेको छ । यद्यपि गुगलबाट यस एपका लागि कुनै कदम चालिएको छैन । ट्रेन्ड माइक्रोले शेयर इट एपको कम्पनीलाई समेत यसबारे जानकारी दिएको छ । तर यो सुरक्षा त्रुटि समाधान गर्ने विषयमा उसले केही प्रतिक्रिया दिइसकेको छैन ।
यसकारण अहिलेका लागि उत्तम उपाय भनेको तत्कालै फोनबाट यो एप अनइन्स्टल गर्नु नै हो । शेयर इटले प्रयोगकर्ताको फोनको स्टोरेज, क्यामेरा, माइक्रोफोन, लोकेशन आदिबारे सूचना लिने गरेको छ । साथै एपमा लगईन गरेर प्रयोगकर्ताले थुप्रै काम गर्न सक्छन् ।
यस्तो अवस्थामा ह्याकरले सबै डेटामथि पहुँच प्राप्त गर्दा फोनमा रहेका संवेदनशील डेटा दुरूपयोग हुने सम्भवना रहन्छ ।
हाल यो एपका विश्वभर १८० करोड प्रयोगकर्ता रहेका छन् । टेकपानाबाट