
भागरथीकी आमा भन्छिन प्रहरीले समातेका युवक हत्यारा होइनन ।
बैतडी, फागुन ५ गते । बैतडी प्रहरीले बुधबार भागरथी भट्टको हत्यामा संलग्न भएको भन्दै अन्दाजी १८ वर्षीय युवकलाई सार्वजनिक गरेको छ । तर, भागरथीकी आमा द्रोपती भट्टले भने पक्राउ गरेर सार्वजनिक गरिएका युवक हत्यामा संलग्न भएको भन्ने कुरामा आफू विश्वस्त नभएको बताएकी छिन् ।
बुधबार सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालय बैतडीमा आरोपित सार्वजनिक गरिरहँदा नेपाली कांग्रेसका नेता एनपी साउदसहितका कांग्रेस नेता भागरथीको घर दोगडाकेदारको चडेपानी पुगेका थिए ।
नेता साउदसहितको टोलीसँगको भेटमा भागरथीकी आमा द्रोपतीले भनेकी छन्, घटना भएको दिन ऊ दिनेश चार बजे घाम छँदै घर आएको हो । उसलाई मैले मेरा भागा भागरथी आइनन् भनेर सोधेकी हुँ, उसले देखिनँ भन्यो । आज उही मान्छे मैले गरेको हुँ भन्दै छ । ऊ त भागरथीको भाइ हो, मेरो छोरो पर्छ । बाजे–बाजे भाइ हुन् । छोरी जेठी हो, ऊ किशोर कान्छो हो । ऊभन्दा छोरी ठूली थिई । एक्लैले कसरी मार्यो भागरथीलाई ? मैले धकेलेर मारेको हुँ भनिरहेको छ रे ’
द्रोपतीले प्रहरीले हत्यामा संलग्न रहेको दाबी गर्दै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका युवक दिनेश भट्ट एक्लैले भागरथीको हत्या नै गरेको भए उसलाई पनि मार्नुपर्ने समेत माग गरेकी छन् । ‘त्यसले मैले एक्लै मारेको भन्छ भने त्यसको पनि हत्या गर्नुपर्छ’ भागरथीकी आमाले भनेकी छिन् । कसैले सिकाएर उसलाई भन्न लगाएको भागरथीकी आमा द्रोपतीले नेता साउदसँगको भेटमा भनेकी छिन् ।
शव नउठाउने परिवारको अडान यथावत्
भागरथीको बलात्कारपछि हत्यामा संलग्न भएका व्यक्तिलाई सार्वजनिक नगरेसम्म शव नउठाउने परिवारले अडान यथावत् राखेका छन् । मृतकका काका नाता पर्ने शिवराज भट्टले प्रहरीले अभियुक्त भनेर सार्वजनिक गरेका व्यक्तिले दिएको भनिएको साबिती बयानमा विश्वस्त नरहेका कारण तत्काल शव नबुझ्ने बताए । ‘प्रहरीले सार्वजनिक गरेको अभियुक्तप्रति विश्वसनीय प्रमाण प्रस्तुत नगरेकाले शव नबुझेका हौँ,’ उनले भने ।
प्रहरीले बुधबार दिउँसो भागरथीको बलात्कारपछि हत्या गरेको अभियोगमा दोगडाकेदार गाउँपालिकाकै दिनेश भट्ट प्रहरीकै शब्दमा लाई सार्वजनिक गरेको थियो । प्रहरीले सार्वजनिक गर्दा ती किशोरको अनुहारमा नकाव लगाइएको थियो । प्रहरीले ती किशोर नाबालक अर्थात् १८ वर्षभन्दामुनिको हुन सक्ने ठानेर नाम पनि औपचारिक रूपमा सार्वजनिक गरेको छैन ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले बुधबार साँझसम्म मृतकका आफन्तले शव नबुझेको जानकारी दिए । आज बुझेका छैनन्, भोलि सम्म बुझ्छन् कि ? उनले भने ।
के प्रमाणका आधारमा प्रहरीले पक्राउ गर्यो?
बैतडीमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीलाई सोधेका थिए, युवक पक्राउ गर्नुको ठोस प्रमाणचाहिँ के छ ?’
पत्रकारको प्रश्नमा डिआइजी सुवेदीले प्रहरीको अनुसन्धानमा शंका नगर्न र कुनै त्रुटि नराखी, घटनास्थलको मसिनो अनुसन्धानपछि आरोपित किशोरलाई नियन्त्रणमा लिएको जवाफ दिएका थिए ।
गत माघ २१ गते स्कुलबाट फर्कने क्रममा बेपत्ता भएकी भट्टको भोलिपल्ट घर जाने सडक छेउको जंगलमा शव भेटिएको थियो । डिआइजी सुवेदीलाई फेरि पत्रकारले प्रश्न गरे, सञ्चारमाध्यममा आरोपितले आफूले हत्या मात्र गरेको स्विकारेको छ, तर बलात्कार नगरेको बयान दिएको भनेर आएको छ, साँचो के हो ?
सुवेदीले आरोपितले दाबी गर्न सक्ने, तर त्यसलाई प्रमाणले झुटो ठहर गर्न सक्ने जवाफ दिए । प्रहरीले मृतक किशोरीको भेजाइनल स्वाब फरेन्सिक परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइसकेको छ । यसबाट भेजाइनल स्वाबमा पुरुषको ‘वीर्य’ भए–नभएको र भए त्यसको डिएनए पत्ता लाग्नेछ । प्रहरीले पक्राउ परेका किशोरको डिएनए पनि परीक्षणका लागि पठाएको छ । डिएनए मिले प्रहरीलाई दाबी पुष्टि गर्न सजिलो हुन्छ । तर नमिले ?
डिआइजी सुवेदी बलात्कार गरेको पुष्टि हुन डिएनए नै मिलेको हुनु नपर्ने दाबी गर्छन् । ‘कानुनमा बलात्कार भएको पुष्टि हुन आरोपितसँग डिएनए मिलेकै हुनुपर्छ भन्ने लेखिएको छैन । योनीमा छोए मात्र, अन्य वस्तु घुसारे पनि बलात्कार हुन्छ भन्ने कानुनी व्याख्या छ,’ डिआइजी सुवेदीले भने ।
यतिबेला घटना हुँदा आरोपित युवकले लगाएका कपडा र उनीसँग मृतक किशोरीले छाडेका प्राविधिक प्रमाणको खोजी प्रहरीले गरिरहेको छ । जसको प्राविधिक परीक्षणपछि बलियो प्रमाण बन्न सक्ने बुझाइ प्रहरीको छ ।