होशियार ! कोरोना प्रकोपमा ह्याकरको बिगबिगी बढ्दो छ

मुख्य समाचार विज्ञान तथा प्रविधि

एजेन्सी । विश्व अहिले कोरोना भाइरसको महामारीको चपेटामा परिरहेको बेला यहि संकटको मौका छोपेर साइबर अपराधीहरू सक्रिय बनेका छन् । लगातार कोरोनासम्बन्धी फर्जी मेसेज तथा वेबलिङ्क माध्यमबाट इन्टरनेट प्रयोगकर्ताहरूको अनलाइन अकाउन्ट ह्याक गर्ने तथा डाटा चोरी गर्ने घटनाहरू विश्वमा बढिरहेका छन् ।संकटका बीचमा ह्याकरहरू एकाएक सक्रिय भएसँगै ह्याकरविरुद्धको लडाइँमा विश्वका साइबर वैज्ञानिकहरू पनि एकजुट भएका छन् । विश्वका साइबर सुरक्षासम्बन्धी करिब चार सय जना स्वयंसेवी विज्ञहरूले सहकार्य सुरु गरेका हुन् । साइबर सेक्युरिटी विशेषज्ञहरूले बुधबार नोबल कोरोना भाइरससँग सम्बन्धी ह्याकिङविरुद्ध लड्नका लागि एउटा समूह बनाएका छन् । कोभिड–१९ लिग नामक उक्त ग्रुपमा विश्वका ४० देशका स्वयंसेवी वैज्ञानिकहरू सामेल छन् । जसमा माइक्रोसफ्ट तथा अमेजनजस्ता ठूला कम्पनीका वरिष्ठ पदहरूमा काम गरिरहेका विज्ञहरू समेत छन् ।
उक्त ग्रुपमा चारजना व्यवस्थापकमध्ये एक मार्क रोजर्सका अनुसार, कोरोना महामारीसँग सम्बन्धित चिकित्सा सुविधा तथा अन्य आवश्यक सामग्रीसम्बन्धी विषयलाई निहुँ बनाएर साइबर हमला गर्ने ह्याकरहरू पहिलो निसानामा हुनेछन् । आफूले यसअघि पनि स्वास्थ्यसम्बन्धी संस्थाहरूमाथि हुने ह्याकिङका विषयमा काम गरिरहेकोभन्दै अहिले विश्वका धेरै मानिसहरूले घरमै बसेर अनलाइनबाट काम गरिरहेको अवस्थामा सञ्चार नेटवर्क तथा सेवालाई ह्याकरबाट बचाउनु निकै चुनौतीपूर्ण रहेको छ ।
उनका अनुसार, कोरोनालाई निहुँ बनाएर साइबर अपराधीहरूले गरिरहेका ह्याकरका प्रयासहरू अभूतपूर्व रहेका र उनीहरूले हरेक समय र हरेक भाषामा सन्देश पठाएर प्रयोगकर्तालाई आफ्नो फन्दामा पार्ने गरेका छन् । उनका अनुसार, साइबर अपराधविरुद्धको लडाइँमा विश्वव्यापी सहकार्यको पछिल्लो कदम निकै महत्त्वपूर्ण छ । यस्तो सहकार्य विश्वमा पहिलोपटक सम्भव भएको उनको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *