‘एसिया प्यासिफिक समिट‘मा हाम्रो सहभागिता छैनः ख्रीष्टियन समुदाय
युपीएफका नेपाल प्रमुख एकनाथ ढकाल भन्छन,“ म ख्रीष्टियन होइन”
काठमाण्डौँ । शुक्रवारबाट राजधानीमा शुरु हुन लागेको चारदिने एसिया प्यासिफिक समिटका सन्दर्भमा ख्रीष्टियन धर्मलाई जाडेर सञ्चार माध्यममा आएका टिका टिप्पणीप्रति नेपाली ख्रीष्टियन समुदायले विरोध जनाएको छ । बुधबार राष्ट्रिय मण्डली संगति र नेपाल ख्रीष्टियन समाजको संयुक्त प्रयासमा सुरू गरिएको ख्रीष्टियन सरोकार अभियानले एक विज्ञप्ती जारी गर्दै नेपाली ख्रीष्टियन समुदायलाई विवादमा ल्याउने प्रयास भएकोमा विरोध जनाएको हो । राजधानीमा हुनगइरहेको समिटमा नेपाली ख्रीष्टियन समुदायको कुनै संलग्नता नरहेको भन्दै अभियानले भ्रमको पछि नलाग्न आग्रह समेत गरेको छ । विज्ञप्तीमा भनीएको छ, “यस प्रकारको भ्रममा नपर्न सम्पूर्ण वर्ग, पक्ष, समुदाय लगायत सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई अनुरोध गर्दछौँ ।”
समिटमा नेपाली ख्रीष्टियन समुदाय तथा ख्रीष्टियन मण्डलीहरुको कुनै सहयोग, सहकार्य र संलग्नता नरहेको अभियानले स्पष्ट पारेको छ । समिटको पूर्वसन्ध्यामा लगातार विभिन्न छापा तथा अनलाइन संचारमाध्यममा धर्मप्रचारमा संलग्न अन्तर्रा्ष्ट्रिय गैर–सरकारी संस्थासँग नेपाल सरकार सहआयोजक, राजनीतिक नेतृत्वको आडमा धर्मप्रचार जस्ता विषयमा समाचार प्रकाशित भएका थिए ।
किन जोडियो ख्रीष्टियन समुदाय प्यासिफिक समिट, यस्तो छ वास्तविकताः
युनिभर्सल पिस फेडरेसन (युपीएफ) को नेपाल शाखाले आयोजना गर्न लागेको सम्मेलनमा नेपाल सरकार सहआयोजक छ । सम्मेलन यही मंसिर १४ देखि १७ गतेसम्म होटेल हयात रिजेन्सीमा सम्मेलन हुँदैछ । ख्रीष्टियन धर्म विस्तारका लागि स्थापना भएको युपीएफसँग सरकारले हात मिलाएको भन्दै आलोचना भइरहेको छ । ‘द एसिया प्यासिफिक समिट २०१८’ नाम दिइएको कार्यक्रममा युपीएफका संस्थापक फादर मुन (डा. सन म्योङ मुन) हुन् । मुन र उनको सँस्था क्रिश्चियानिटीसँग आवद्ध रहेकोभन्दै नेपालमा यसको व्यापक विरोध भइरहेको छ । युपीएफ ‘न्यु क्रिस्चियन’ को अभियान लिएर सन् २००५ मा स्थापना भएको कोरियन संस्था हो । यसको नेपाल अध्यक्ष छन पूर्वमन्त्री एकनाथ ढकाल ।
ढकाल नेपाल परिवार दल खोलेर दुई पटक सांसद र मन्त्री बनेका थिए । ढकालले आफ्नो पार्टीका सबै कार्यकर्तालाई क्रिश्चियन बन्न परिपत्र जारी गरेको भन्ने आरोप पनि छ उनकै पार्टीका कार्यकर्ताबाट । ‘न्यु क्रिस्चियन’ को अभियान हालको ख्रीष्टियन धर्मको अभ्यासभन्दा फरक छ । यसको शिक्षा ख्रीष्टियन धर्मग्रन्थ बाइबलविरूद्धको अभियान भएकाले विश्व ख्रीष्टियन समुदायको समर्थन यो अभियानमा छैन । मुन ख्रीष्टियन समुदायबाट अलग भइसकेका छन् र उनले विश्वमा गलत शिक्षाको प्रचार गरिरहेको भन्दै व्यापक विरोधपनि भएको छ । ख्रीष्टियन भनिएका युपीएफका नेपाल अध्यक्ष एकनाथ ढकाल आफुलाई ख्रीष्टियन भनेकोमा विरोध गर्छन् । उनी ठुलो स्वरमा आफै दावीका साथ भन्छन, “म ख्रीष्टियन होइन ।” हुन पनि वास्तवमा उनी ख्रीष्टियन होइनन, ख्रीष्टियन कहलाइएका ढकालका कारण नेपाली ख्रीष्टियन समुदायले पटक पटक विरोध र समस्या खेप्दै आउनु परेको नेपालका ख्रीष्टियन अगुवाहरू बताउँछन् ।
चारदिने एसिया प्यासिफिक समिटमा एसिया प्यासिफिक मुलुकका सरकार र राष्ट्र प्रमुख, पूर्वप्रमुख, संसदका सभामुख, मन्त्रीलगायतको सहभागिता रहनेछ । आयोजक संस्था युपीएफका अनुसार ‘एड्रेसिङ द क्रिटिकल च्यालन्जेज अफ आवर टाइमः इन्टरडिपेन्डेन्स, म्युचल प्रोस्पेरीटी एण्ड युनिभर्सल भ्यालुज’ शीर्षकमा सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलनमा शान्ति र विकास, जलवायु परिवर्तन, सुशासन, द्वन्द्व समाधान, विवाह र परिवार, दीगो विकास लगायतका विषयमा छलफल हुने उल्लेख गरिएको छ । जायोन अनलाइन