कोरोना भाइरसको कारणले मृत्युभएपछि घर र माइती गाउँ सिल
काठमाडौँ । कोरोनाभाइरस सङ्क्रमणका कारण नेपालमा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ। उनी सिन्धुपाल्चोककी सुत्केरी महिला हुन्। कोभिड–१९ का कारण नेपालमा पुष्टि भएको यो पहिलो मृत्यु हो। उनी केही दिनअघि मात्र काठमाण्डूस्थित शिक्षण अस्पतालमा सुत्केरी भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका थिए। घर फर्किएपछि ती महिला बिरामी परेकी र उनलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो। कोरोना भाइरसको कारणले उनको निधन भएपछि घर र माइती गाउँलाई सिल गरिएको छ । मृतकको घर बाह्रबिसे नगरपालिका–९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए । उनकाअनुसार माइती गाउँबाट आफन्तहरु भेट्न गएकाले गाउँ पनि सिल गरिएको हो । सिल गरिएका वडाबाट कोही व्यक्ति बाहिर आउन र वडाभित्र प्रवेश गर्न पाउने छैनन् । जिल्लाको कोभिड–१९ विपद व्यवस्थापन केन्द्रले त्यस क्षेत्रका वासिन्दालाई घरबाहिर निस्कन नदिने आग्रह गरेको छ । साथै सिल गरिएको क्षेत्रमा सेना र प्रहरी परिचालन गरिएको छ ।
यस्तै मृतकको हालै स्वास्थ्य जाँच गराएको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र पनि सिल गरिएको छ । उनको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक ट्रेसिङ गरी पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने र क्वारेन्टाइनमा राख्ने पनि निर्णय भएको छ ।