बच्चाको तौल र उचाइ बढेन भने के गर्ने ?

स्वास्थ्य

आफ्ना बच्चाको उमेर अनुसारको तौल र उचाइ कम हुँदा हरेक आमाबाबु चिन्तित हुनु स्वाभाविक नै हो । बच्चाको उमेर अनुसार तौल र उचाइ निकै कम हुनु वा उमेर अनुसार वृद्धि नहुनु राम्रो लक्षण होइन । तौल र उचाइ बच्चाको शारीरिक तथा मानसिक विकास र स्वास्थ्यसँग जोडिएको हुन्छ । त्यसकारण पनि आमाबुबाले विशेष जानकारी राख्नुपर्ने हुन्छ । अस्पतालमा आएका अभिभावकमध्ये अधिकांशको साझा प्रश्न हुन्छ । बच्चाहरूलाई हृष्टपुष्ट र स्वस्थ राख्न के गर्ने होला ? आमाबुबाहरू उचाइभन्दा पनि बच्चाको तौल नबढेकोमा बढी चिन्तित हुने गर्छन् । एक वर्षदेखि पाँच वर्ष उमेर समूहका बालबालिकाको सही उचाइ र तौल छ कि छैन भनेर नियमित जाँच गर्नुपर्छ । बच्चाको मस्तिष्कको विकास दुई वर्षभित्रमा ८० प्रतिशत हुने भएकाले यो समयमा विशेष ख्याल गर्नुपर्छ । यदि बच्चालाई सही मात्रामा पोषण पुगेको छैन भने उचाइमा असर गर्छ। तौल भनेको घटबढ भइराख्ने गर्छ । बिरामी अवस्थामा बच्चाहरूले खाना रुचाउँदैनन्, यो बेला उनीहरूको तौल घट्छ । तर, निको भइसकेपछि पुनः खाना थाल्छन् र तौल पहिलाको जस्तै सन्तुलनमा आउँछ । यस्तो अवस्थामा आमाबुबाले एकपटक चिकित्सकसँग परामर्श लिनुपर्छ । आमाबुबाको बानी सधैं आफ्ना बच्चालाई अरूको बच्चा जस्तो किन देखिएन भन्ने हुन्छ । तर आमाबाबुको बनावट कस्तो छ, त्यसमा नै भर पर्छ बच्चाहरूको शारीरिक संरचना । स्वस्थ हुनु भनेको मोटो हुनु होइन । मोटो हुँदैमा बच्चा स्वस्थ हुँदैनन् । यदि सही तौल र सही उचाइ छ भने बच्चा आफैं स्वस्थ हुँदै जान्छ । एकदेखि पाँच वर्षसम्म बच्चाहरूको एकदम सक्रिय हुने उमेर हो । शारीरिक रूपमा पनि धेरै बाहिर उफ्रिने, खेल्ने, चल्ने भएकाले शरीरले ऊर्जा सञ्चय गर्न सक्दैन। यो अवधिमा उनीहरूको तौल कम हुने गर्छ । यदि पोषणयुक्त खानेकुरा खाँदा पनि बच्चाहरूको उचाइ र तौल चाहिनेभन्दा कम भयो भने सम्झनुपर्छ, कुनै न कुनै समस्या छ । त्यसपछि तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ । बच्चाहरूको तौल विभिन्न कारणले गर्दा नबढ्ने हुन्छ । कि त बच्चामा दीर्घ स्वास्थ्य समस्या हुनुप¥यो । कुनै पनि दीर्घ समस्या छैन भने किन बच्चाको उचित मात्रामा तौल र उचाइ नबढेको भनेर बुझ्नुपर्ने हुन्छ । कुनै बेला बच्चाले खान पचाउन नसकेर पोषणको कमीले पनि यो समस्या देखापर्न सक्छ । खानाको एलर्जीका कारण पनि कतिपय बच्चामा यस्तोखाले समस्या देखिने गरेका छन् । गहुँको एलर्जी हुँदा बच्चाको उचाइ र तौलमा गडबडी आउँछ भने पाचन शक्ति पनि कमजोर हुन्छ । यो समस्या जेनेटिक कारण पनि हो । अहिले नेपालमा यो समस्या पहिचान हुन नसक्दा बच्चाहरूले तौल र उचाइको समस्या भोग्नुपरेको छ । गहुँका परिकारले गर्दा समस्या भएको छ भने त्यस्ता खानेकुरा बार्नुपार्ने हुन्छ । त्यसो गर्दा बच्चाको उचाइ र तौलमा सुधार आउँछ । तौल र उचाइको समस्या आउनुमा थुप्रै लक्षण देखापर्छन् । जस्तैः रगतको कमीु, कसैलाई हप्ता–दुई हप्तामा डाइरिया हुनु, खानामा अरुचि, भिटामिन डीको कमी आदि । यस्तो लक्षण देखिए आमाबुबाले एकपटक चिकित्सकलाई देखाएर गहुँको एलर्जी भएको छ कि छैन भनेर रगत र इन्डोस्कोपीको माध्यमबाट टेस्ट गर्न सकिन्छ । खाना खान नमान्ने बच्चालाई कतिपयले चकलेट, बिस्कुट दिएर फकाउने गर्छन्, यो राम्रो होइन । बच्चाहरूलाई कब्जियत छ भने पनि तौल र उचाइको समस्या हुन सक्छ । कब्जियत भयो भने दिसा कडा हुन्छ । त्यसैले सानो बच्चाहरूलाई दिसा गर्ने बेलामा गाह्रो हुन्छ । त्यस्तो बेला कुना गएर बस्ने, रुने, दिसा गर्न डराउने गर्छन् । कब्जियत भएको खण्डमा बच्चालाई चिकित्सकको सल्लाह अनुसार औषधि दिने र ट्वाइलेट बस्ने तालिम दिनुपर्छ । खाना खाने नली र पेटको भागको मसल कमजोर भयो पाचन प्रक्रियामा समस्या आउँछ । यो समस्या विशेषगरी दुई वर्षभन्दा साना बच्चाहरूलाई हुन्छ । पाचनशक्ति कमजोर हुँदा वान्ता हुन्छ । जसका कारण पोषण तत्व प्राप्त हुँदैन । ठूला मान्छेलाई जस्तै बच्चाहरूलाई पनि एसिडिटी हुने गर्छ । जसका कारण पेट ढुस्स हुने भएकाले खाना मन नलाग्ने हुन्छ । सही मात्रामा बच्चाहरूमा पोषण तत्व अपुग हुँदा उचाइ र तौलमा समस्या देखापर्छ । हर्मोन पनि अर्को कारण हो, जसले शरीरको तौल घटबढ हुन्छ। त्यसो भयो भने बच्चाको थाइराइड जाँच गर्नुपर्छ। यस्ता समस्याले बच्चाहरू जति बढ्नु पर्ने हो बढ्न पाउँदैनन । बच्चालाई पोषणयुक्त खानाका साथ साथै शारीरिक कसरत पनि उतिकै जरुरत हुन्छ । नियमित रूपमा तौल लिने र विश्व स्वास्थ्य संगठनले प्रयोगमा ल्याएको चार्टमा राखेर तुलना गर्नुपर्ने हुन्छ । एकपटक नाप हेरेर बच्चाको वृद्धि ठिकसँग भएको छ कि छैन भनेर यकिन गर्न गाह्रो हुन्छ, त्यसैले नियमित स्वास्थ्य परीक्षण गराइरहनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *