अलबिदा अनिल! (को थिए अनिल शाही ? )
लाईट न्युज सम्वाददाता
पोखरा, माघ १० गते । संचार क्षेत्रमा ठूलो योगदान दिएका रेडियो अपोस्टलका संचालक, अपोस्टल मिडियाका निर्देशक, कुशल भिडियो ग्राफर, संगित संयोजक तथा नदीपुर चर्चका एल्डर अनिल शाहीको अन्त्यष्टि कार्यक्रम सम्पन्न भएको छ ।
२०७९ माघ १ गते भएको विमान दुर्घटनामा परि ज्यान गुमाउनेमा नदीपुर चर्चका मुख्य अगुवा राजुसिँह ठकुरी, अनिल शाही र रबिन हमाल थिए । काठमाडौ टिचिङ हस्पिटलबाट अनिल शाहीको शव सनाखत भएपछि नदीपुर चर्चमा अन्तिम श्रद्धान्जली कार्यक्रम आयोजना गएिको थियो ।
उनलाई श्रद्धान्जली दिन पत्रकार, पेसाकर्मी, उद्यमी व्यवसायी, समाजसेवी, पोखरा लगायत नेपालका विभिन्न ठाउँका पाष्टर अगुवा, युवाहरुको बाक्लो उपस्थिति रहेको थियो । उनको शव यात्रामा ठूलो संख्यामा मानिसहरुको उपस्थिति रहेको थियो ।
युवा उद्यमी शाहीको शवलाई नदीपुर स्थित नदीपुर चर्चमा अन्तिम बिदाईको लागि राखिएको थियो र तत्पश्चात विश्रामस्थलतर्फ लगिएको थयो ।
उनी लगायत अन्य अगुवाहरु पाष्टर म्याथ्यु फिलिपको अन्त्यष्टि कार्यक्रममा सहभागी भएर काठमाडौँबाट पोखरा आउँदै हुनुहुन्थ्यो । जवान उमेरमै नेपालमा रहेर युवाहरुको लागि केहि गर्छु भन्ने अनिल संचार तथा प्रविधिमा निकै दख्खल थिए । बहुमुखी प्रतिभाका धनि अनिलले सार्क कम्प्युटर ट्रेडिङ, रेडियो अपोस्टल, असलसाथी, अपोस्टल रेकर्डिङ स्टुडियोका संचालन गरेका थिए ।
भानुभक्त उच्च माविबाट स्कुलको पढाई सकेका उनी इन्फोम्याक्स कलेजबाट डिग्रीप्राप्त केहि समय उक्त कलेजमै अध्यापन गराए । उनले विभिन्न टेक्निकल कम्पनीसँग जोडिएर केहि समय काम गरे । सानै देखि गित संगितमा रुचि राख्ने अनिल आफ्नै सांगितक ब्यान्डसंग मिलेर केहि गितहरु पनि रचना गरेका थिए । पछिल्लो समयमा फ्रन्टलाइनर्ससँग र नदीपुर चर्चका एल्डर भएर उनी आत्मिक सेवकाईमा पनि अग्रसर थिए ।