पोखराका वडा वडामा क्वारेनटाइन, बाहिरबाट फलफूल र तरकारी ल्याउन रोक
सोमबार, १२ जेठ २०७७
लाईट न्यूज संवाददाता
कोरोना भाइरसको संक्रमण नेपालमा दिनानुदिन बढ्दो क्रमलाई मध्येनजर गर्दै पोखरा महानगरपालिकाले आफ्नो ३३ वटै वडामा क्वारेन्टाइन निर्माण गर्ने जनाएको छ । ३३ वटै वडामा ५० जना सम्म राख्न सकिने स्थानको छनोट गर्न वडाहरुलाई पत्राचार गरिएको पोखरा महानगर कोरोना संक्रमण नियन्त्रण मुल समितिका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा सम्पन्न बैठकबाट निर्णय भएको छ ।
हाल पोखरामा मालेपाटनस्थित कृषिको होस्टेल र जाल्पारोडस्थित लेकसिटी रिसर्च एन्ड हस्पिटलमा महानगरले क्वारेन्टाइन सञ्चालन गरेको छ । अबका दिनमा थप व्यक्तिहरु राख्नुपर्ने अवस्था सृजना हुनसक्ने, अझ थप क्वारेन्टाइन स्थलको आवश्यकता पर्ने भएका कारण वडाका वडा अध्यक्षहरुलाई बढीमा ५० जना राख्न सकिने स्थानको छनोट गर्न तत्काल पत्राचार गर्ने निर्णय गरेका छौं, क्वारेन्टाइन सञ्चालन र रेखदेख गर्ने जिम्मेवारी समेत वडाले गर्ने छ । त्यसका लागि आवश्यक स्वास्थ्य सेवाको व्यवस्थापन महानगर स्वास्थ्य महाशाखाले गर्ने गुरुङले जानकारी दिए ।
त्यस्तै महानगरले महिलाहरुका लागि छुट्टै क्वारेन्टाइन बनाउने निर्णय समेत गरेको छ । महिलाका लागि एउटा छुटटै क्वारेन्टाइन स्थानको छनोट र व्यवस्थापन गर्न महानगरको क्वारेन्टाइन व्यवस्थापन समितिलाई निर्देशन दिने निर्णय गरेको उपप्रमुख गुरुङले जानकारी दिइन् । त्यस्तै पोखरा महानगरले उपलब्ध गराउँदै आएको सुत्केरी पोषण सामग्रीलाई जेठ २० गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । पोखरा महानगरले लकडाउनको अवधिमा सुत्केरी भएकाहरुलाई एक केजी घिउ, एक केजी हर्लिक्स, एक लिटर तेल र नगद पाँच सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ । त्यस्तै प्रसुति सेवा र मृगौला बिरामीहरुलाई प्रदान गरेको निःशुल्क एम्बुलेन्स सेवालाई पनि जेठ २० गतेसम्म निरन्तरता दिने निर्णय गरेको समितिका सदस्य सचिव किरण कोइरालाले बताए ।
त्यस्तै समितिको बैठकले महानगरले सञ्चालन गर्ने गरी एउटा एम्बुलेन्स खरिद गर्न पोखरा महानगर कार्यपालिकालाई सिफारिस गर्ने त्यस्तै हाल सञ्चालनमा रहेका एम्बुलेन्स मध्ये २ वटा कोरोना संक्रमितको लागि मात्रै सञ्चालन गर्ने र अरु एम्बुलेन्स अन्य रोगका विरामीलाई ओसारपोसारमा प्रयोग गर्ने निर्णय गरेको छ । महानगरले कोरोना संक्रमणको उच्च जोखिम र आगामी दिनहरुमा संक्रमण फैलिन नदिन कास्की जिल्लाबाहेक अन्य स्थानबाट पोखरामा तरकारी तथा फलफुल भित्रन् नदिन आवश्यक कार्य गर्न महानगरलाई सिफारिस गर्ने निर्णय गरेको महानगरका अनुगमन अधिकृत किरण कोइरालाले जानकारी दिए ।