नेपालमा बढ्दै छन् कोरोना जित्नेहरू

नेपाल मुख्य समाचार स्वास्थ्य

पोखरा, वैशाख १२ गते । दिनदिनै नेपालमा कोरोनाको संक्रमितहरु बढिरहेको छ भने कोरोनालाई जितेर घर फर्किनेको सङ्ख्या पनि बढिरहेको छ । नेपालगञ्जमा २१ जनाले कोरोनो जितेर हर्षोल्लास मनाउँदै घर फर्किएको भोलिपल्ट शनिबार साँझ बुटवलको कोरोना विशेष अस्थायी अस्पतालबाट १० जना सङ्क्रमित निको भएर घर फर्किए । यसअघि पनि यही अस्पतालबाट एकजना युवा निको भएर घर गएका थिए । २७० भन्दा धेरै सङ्क्रमित यो प्रदेशमा कोरोना युद्ध जित्नेको सङ्ख्या ३२ पुगेको छ भने ज्यान गुमाउनेको सङ्ख्या दुई रहेको छ ।

त्यसैगरी शुक्रबार रूपन्देहीमा एकैपटक आठजनामा कोरोना सङ्क्रमण भएको समाचारले चिन्तित बनेका जिल्लावासी शनिबार साँझ एकैपटक १० जना कोरोना सङ्क्रमित बिरामी निको भएर घर फर्किएपछि खुसी भएका छन् ।
यो समाचारले मनोबल बढाउन मद्दत पुगेको छ । बुटवल धागो कारखानास्थित बुटवल कोरोना विशेष “अस्थायी” अस्पतालमा उपचारत १० जना कोरोना सङ्क्रमित बिरामी उपचारपछि निको भएर घर फर्किएपछि सबैमा मनोबल बढेको हो । कोरोना सङ्क्रमण पुष्टि भएपछि दुई हप्ताअघि कोरोना अस्पतालको एकान्तवासमा भर्ना भएका बिरामी निको भएर शनिबार घर फर्किएका हुन् । निको भएर घर फर्किने सबै कपिलवस्तु जिल्लाका भएको अस्पतालले जनाएको छ । दुई हप्ताको उपचारपछि दुईपटक गरिएको परीक्षणमा उनीहरूको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरी बिदाइ गरिएको हो ।

यसअघि रूपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवा पनि कोरोनालाई जितेर घर गइसकेका छन् । धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा रूपन्देही र कपिलवस्तुका गरी ३६ जना कोरोना सङ्क्रमित बिरामीको उपचार भइरहेको थियो ।

कोरोना निको भएर वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट आइतबार राति एकै परिवारका १८ जना डिस्चार्ज भएका छन् । वीरगञ्ज महानगरपालिका–३ छपकैयाका एकै परिवारका सदस्यहरु डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा ४ महिनाको शिशुदेखि ६६ वर्षका वृद्ध छन् । गत वैशाख २१ गते एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि उनका परिवारका सदस्यहरुको परीक्षण गरिएको थियो । परीक्षणका क्रममा उनको परिवारका १७ जना सदस्यमा वैशाख २४ गते संक्रमण पुष्टि भएको थियो ।
यसअघि शनिबार पनि नाराणी अस्पतालबाट चार जना डिस्चार्ज भएका थिए । जसमध्ये एक जना भारतीय नागरिक थिए । उनीसँगै कोरोना परीक्षणका क्रममा पर्सामा संक्रमित देखा परेका तीन जना भारतीय नागरिक निको भएर डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *