हरियोखर्क अस्पतालले मनायो ७० औँ विश्व कुष्ठरोग दिवस

मुख्य समाचार स्वास्थ्य

लाईट न्युज संवाददाता
१५ माघ २०७९, पोखरा । आई.एन एफ.अन्तर्गतको हरियोखर्क अस्पताल पोखराले ७० औँ विश्व कुष्ठरोग दिवस विभिन्न कार्यक्रमहरु गरी मनाएको छ । नेपालमा कुष्ठरोग उन्मुलनको क्षेत्रमा आफ्नो अमुल्य योगदान दिएको अस्पतालले कुष्ठरोग दिवसको पुर्वसन्धयामा विभिन्न कार्यक्रमहरु गरी यस दिवसलाई सफलतापुर्वक मनाएको छ ।


आफ्नो स्थापना र नेपालमा सेवा पुर्याएको ७० औँ वर्षमा प्रवेश गरेको अस्पतालले ७० औँ विश्व कुष्ठरोग दिवसका दिन एक कार्यक्रम गर्दै कुष्ठरोगप्रति आफ्नो लडाई अनवरत रहेको जनाएको छ । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गण्डकी प्रदेश सचिव डा.बिन्दु बिनोद शर्मा प्रमुख अतिथिको रुपमा हुनुहुन्थ्यो भने अतिथिको रुपमा नेपाल कुष्ठरोग निवारण संघका अध्यक्ष्य सुभाष तझ्या, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका क्षयकुष्ठ अधिकृत लक्ष्मण बसौला, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक खिम बहादुर खड्का लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । मन्तव्य दिँदै प्रमुख अतिथिले कुष्ठरोग निवारणमा अहिले ठूलो सफलता हात पारे पनि अझै यसको जटिलता नहटेको र यसलाई ५ वर्ष भित्र न्युन पार्ने र यसको निवारणमा सरकारको सँधै साथ रहने कुरा गर्नुभयो । साथै साना २ कोठाबाट सुरुभएको हरियोखर्क अस्पतालले आजको दिनसम्म आइपुग्दा स्वास्थ्य क्षेत्रमा पुर्याएको सेवाप्रति सम्मान पनि व्यक्त गर्नुभयो ।


कार्यक्रममा हरियोखर्क अस्पतालका मेडिकल सेवा निर्देशक डा.अरुण कुमार बुढाले सबैलाई स्वागत गर्नुभएपछि डा.रमेश शर्माले समाजमा कुष्ठरोगको अवस्था, यसबारे फैलिएका मिथ्या, कुष्ठरोग कस्तो खालको रोग हो, नेपालमा यसको अवस्था कस्तो छ भन्ने लगायतका विषयमा आफ्नो प्रस्तुति राख्नुभएको थियो । प्रस्तुति राख्ने क्रममा डा.सुरेश महर्जनले कुष्ठरोगको उपचार पद्दति, यसका लक्षण, यसलाई उपचार गर्दाका जटिलताहरु, उपचारपछिको पुनस्र्थापनको विषयमा जानकारी गराउनुभएको थियो ।


“कुष्ठरोग अन्त्यका लागि, आजैबाट पहल गरौँ” भन्ने मुल नारालाई लिएर अस्पतालले दिवसको पुर्वसन्ध्यामा विभिन्न युवा समुह, दिदीबहिनी समुह, विद्यालय, सुरक्षा निकाय, अस्पताल र समाजमा सचेतना कार्यक्रम आयोजना गरेको थियो । त्यसैगरी कुष्ठरोग सम्बन्धी कविता प्रतियोगिता, पोष्टर प्रतियोगिता समेत आयोजना गरेको थियो । कविता प्रतियोगितामा मुगु जिल्लाका जवहरीलाल कार्की प्रथम भएका थिए भने पोष्टर प्रतियोगितामा एकता आवसिय मावि प्रथम भएको थयो । विजयीलाई कार्यक्रममा पुरस्कृत गरिएको थियो ।


कार्यक्रमका सभाध्यक्ष तथा आई.एन.एफ नेपालका निर्देशक कृष्ण अधिकारीले कुष्ठरोगको उपचार केबल शारिरिक मात्र नभई, भावनात्मक, संवेगात्मक, अध्यात्मक र पुनस्र्थापनसम्म पुग्नुपर्ने र यसको उपचारमा लामो समय र खर्चिलो हुने कुरा जनाउँदै अस्पतालले पुर्याउने सेवाको क्रममा सरकारबाट पाएको सहकार्य र सहयोगप्रति, दातृनिकाय, मेडिकल टिम र सम्पुर्ण सहयोगीहरुप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *