नेपालकै लामो झोलुङ्गे पुल ‘१ घण्टाको यात्रा १० मिनेटमै’

आर्थिक नेपाल मुख्य समाचार

पोखरा, साउन १८ गते । बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमा निर्माण थालिएको नेपालकै लामो झोलुङ्गे पुल गत शुक्रबारदेखि सर्वसाधरणका लागि खुला गरिएको छ । पुल विश्वकै लामो भएको समेत दाबी गरिँदै आए पनि तथ्यहरु जुट्न बाँकी नै छन् ।
गत चैत ११ गतेदेखि भएको लकडाउनका कारण अन्य विकास निर्माण ठप्प भएको सन्दर्भमा लामो झोलुङ्गे पुलको निर्माण गत वैशाखमै सम्पन्न भए पनि हस्तान्तरण नहुँदा सर्वसाधारणलाई खुला गरिएको थिएन । पुल खुला भएसँगै पर्वत जिल्लाको कुश्मा नगरपालिका र जलजला गाउँपालिका र बागलुङ बजारको यात्रा छोटिएको छ । यसले दुई जिल्लाको पर्यटन तथा आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । पुल बनेपछि बागलुङ जिल्ला सदरमुकामबाट पाङ अदुवाबारी पुग्न एक घण्टा बढी पैदलयात्रा गर्नुपर्नेमा पुलबाट १० मिनेटमै पुग्न सकिने पाङ सुवेदीथर माध्यमिक विद्यालयका प्रधानध्यापक दीपक सुवेदीले जानकारी दिनुभयो ।
लकडाउन हटेसँगै निर्माण कम्पनीले पुल हस्तान्तरण गर्न थालेको छ । पुल हस्तान्तरण प्रक्रिया शुरु भएको जनाउँदै सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले शुक्रबारदेखि पुल खुला गर्न अनुमति दिएको हो । पुल सञ्चालनमा आएपछि दुई जिल्लाका मात्रै नभएर बागलुङ र पर्वत हुँदै म्याग्दी र मुस्ताङ जाने पर्यटकलाई समेत यस पुलले आकर्षित गर्नेछ ।
पुल खुला गरेपछि शुक्रबारदेखि पुल अवलोकन गर्नेको भीड नै लागेको छ । झोलुङ्गे खुला प्रकृतिमा ५७६ मिटर लामो पुल निर्माण नेपालमै पहिलोपटक निर्माण गरिएको हो । यो पुल विश्वकै लामो भएको बागलुङ नगरपालिकाले दाबी गरेको छ । विसं २०७५ चैतदेखि शुरु भएको पुल निर्माणकार्य आगामी २०७७ असार मसान्तमा सम्पन्न गर्ने ठेक्का सम्झौता भए पनि तीन महिनाअगावै पुल निर्माण सम्पन्न भएको थियो ।पुलको एकसाथ ६१२ जना अर्थात् ८५ मेट्रिक टन क्षमता रहेको छ । अहिलेसम्म नेपालमा सात हजार ५०० बढी झोलुङ्गे पुल छन् । शुरुमा रु १२ करोड २२ लाख लागत अनुमान गरिए पनि लठ्ठा र लठ्ठा तान्ने औजार मन्त्रालयले उपलब्ध गराउने भएपछि रु छ करोड ९१ लाखमा सम्झौता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *